लाभांश प्रस्तावसहित छिमेक लघुवित्तद्वारा साधारण सभा आह्वान, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २१औं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले सभा चैत १० गते शुक्रबार हेटौंडा–४ मकवानपुर स्थित होटल सामनामा बिहान ११ बजे बस्नेगरी सभा डाकेको हो ।
सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.२६ प्रतिशत नगद लाभांश गरी कुल २५.२६ प्रतिशत लाभांश पारित गर्नेछ ।
यसका साथै सोही सभाले बोनस शेयर वितरणपछिको चुक्तापुँजी बृद्धि गर्ने प्रस्तावलाई अनुमोदन गर्नेछ । साथै, गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेश गर्नेछ ।
यसका अलावा सभामा चालु आव २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।
साधारण सभा प्रयोजनार्थ संस्थाले फागुन २५ गते एकदिन बुक्लोजको मिति तोकेको छ । यसर्थ फागुन २३ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।












