स्टान्डर्ड चार्टर्ड बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकको ऋणपत्रमा आवेदन दिने आज सोमबार (फागुन ८ गते) अन्तिम दिन रहेको छ । आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ । बैंकले माघ २६ गतेदेखि २४ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । यस बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा कुल २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । कुल इकाईमध्ये १४ लाख ४० हजार इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
बाँकी ९ लाख ६० हजार इकाईमध्ये ४८ हजार इकाई सामूहिक लगानी कोषलाई बाँडफाट गरिएको छ भने ९ लाख १२ हजार इकाई सर्वसाधारणका लागि खुला गरेको बैंकले जानकारी गराएको छ । यस ऋणपत्रमा वार्षिक १०.३०% ब्याजदर पाइनेछ । बैंकले ५ वर्ष अवधिको ‘१०.३०% स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र’ जारी गर्न लागेको हो ।
यसमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यपिटल रहेको छ । न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । चर्टर्डको ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुका शाखा र मेरो सेयर एपमार्फत अनलाइन आवेदन दिन सकिनेछ ।
रेटिङ एजेन्सी इक्रा नेपालले स्टान्डर्ड चार्टर्डलाई वित्तीय दायित्व वहन क्षमतामा सबैभन्दा कम जोखिम अर्थात् उच्च सुरक्षित रहेको आधार जनाउने ‘इक्रा एनपी इस्यूअर रेटिङ ट्रिपल ए’ रेटिङ दिएको छ ।












