सिभिलसँगको मर्जरमा हिमालयन बैंकका सिईओ अशोक राणाको नैतिकतामाथि प्रश्नै-प्रश्न, गभर्नर अधिकारीले सह–अस्तित्व कायम गराउलान कि भोज खालान ?

काठमाडौं । कमजोर भएको मौका छोपेर बलियाले जुकाले झै चुस्ने नेपाली ठूला उद्योगीहरुको परिपाटी नै बनेको छ । इटहरीका प्रेम आचार्यले त्यसै स्टाटस लेखेर नयाँ बानेश्वरमा जीउदै आगो लगाएको होइनरहेछन् भन्ने तथ्य आजबाट एकीकृत कारोबार गर्दै गरेको हिमालयन बैंक र सिभिल बैंकलाई हेरे पुग्छ ।
सिभिल बैंकका संस्थापक अध्यक्ष आईआर तामाङ यतिबेला जेलमा छन् । सिभिल बैंकमा कार्यरत सिईओ सुनिल पोखरेलसहित आठ जना उच्च व्यवस्थापकले राजिनामा दिएर हिजोबाट विदा भएका छन् । सिभिल बैंकलाई प्राप्ती गरी एकीकृत कारोबार सुरु गर्दै गर्दा सिईओ हिमालयन बैंकको सिईओ अशोक राणामाथि गम्भिर नैतिक र सामाजिक प्रश्न उठेको छ । संस्थापक अध्यक्ष जेलमा भएको मौकामा मर्जर अनि बैंकमा कार्यरत सिईओसहित उच्च कर्मचारीहरुलाई राजिनामा गर्न बाध्य पारेर सिभिल बैंक किन मर्जर गरियो ? हिमालयन बैंकमा कर्मचारी सञ्चय कोषसहितको शेयर भएपनि सिईओ अशोक राणाको पारिवारिक लगानी ठूलो छ ।
उल्लेखित घटनाले हिमालयन बैंकभित्रको संस्थागत सुशासन भन्ने चिज कहाँ छ भन्ने प्रश्न उठेको छ । हिमालयन बैंकलाई व्यक्तिगत रुपमा सञ्चालन गरिएको होइन भन्ने आधार के छ ? अर्को प्रश्न पनि सँगै उठेको छ । हिमालयन बैंकसँग एकीकृत कारोबार गर्दा एक, दुई जना कर्मचारी नजान पनि सक्छन् तर, सिंगो टिमले बैंक छोडेर हिड्नुले हिमालयन बैंकका सिईओ अशोक राणाको व्यक्तिगत छवि र उनको नैतिकतामाथि गम्भिर प्रश्न चिन्ह उठाईदिएका छन् ।
सिभिल बैंकमा बैंक चलाउन योग्य कोही पनि थिएनन् ? वा सिभिल बैंकमा कार्यरत सिईओसहितका डेपुटी सिईओ, म्यानेजरहरुले हिमालयन बैंकका सिईओ अशोक राणासँग मिलेर काम गर्ने वातावरण देखेनन् ? सिभिल बैंकबाट मर्जर हुनु अघिल्लो दिन विदाई गरिएका सिईओ सुनिल पोखरेल आफ्ना आठ जना सहकर्मीसँगै बसेर फूलमाला सहित विदाई भएको तस्विर सार्वजनिक भएको छ । सो तस्विरले हिमालयन बैंकका सिईओ अशोक राणाको सामाजिक र नैतिक क्षमतामाथि प्रश्न चिन्ह उठाएको छ ।
संसारभरकै बैंकिङ क्षेत्रमा धेरै मर्जरहरु भएका छन् । तर, हिमालयन बैंक र सिभिल बैंकबीचको जस्तो मर्जर शायदै भएका होलान् । किनभने एकीकृत कारोबारपछि सिभिल बैंकमा लामो समय काम गरेका अनुभवी कर्मचारीहरु नयाँ बनेको हिमालयन बैंकमा हुनेछैनन् बरु सहायक तहका कर्मचारी, पियनको उपस्थिति हुनेछ ।
सिभिल बैंकका उच्च व्यवस्थापकहरुले मर्जरको अघिल्लो दिन विदाई लिएपछि नैतिक संकटमा परेका हिमालयन बैंकका अशोक राणाले आजदेखि हुने एकीकृत कारोबार भव्य कार्यक्रम समेत गर्न सकेनन् । आज विहान १०ः३० बजे सामान्य कार्यक्रम मात्रै गर्न लागेको उनले धेरै अतिथि समेत नबोलाउने निर्णय गरेको बताइन्छ ।
सिभिल बैंकलाई अपमानपूर्वक हिमालयन बैंकमा गाभिएको सन्दर्भमा नियामक निकाय नेपाल राष्ट्र बैंकको कार्यक्षमतामाथि समेत प्रश्न चिन्ह उठेको छ । यसअघि अप्ठेरो अवस्थामा गाभिएको किष्ट बैंक र प्रभु बैंकबीचमा एकीकृत कारोबार गर्दा तत्कालिन गभर्नर युवराज खतिवडाले भनेका थिए, मर्जर कसैको अस्तित्व समाप्त पार्नको हुनु हुँदैन । दुवै पक्षको अस्तित्व, आत्मसम्मान र उपस्थिति हुनुपर्दछ । त्यसैले आजसम्म प्रभु बैंकको लोगोभित्र किष्टको अंश देख्न सकिन्छ भने किष्ट बैंकले बनाएको केन्द्रीय कार्यालयमै प्रभु बैंकले केन्द्रीय कार्यालय सञ्चालन गर्दै आएको छ ।
विगतमा मर्जरमा जानै पर्दछ भनेर आदेश दिने तर आज मर्जर हुँदा सिभिल बैंक र हिमालयन बैंक प्रकरणमा नेपाल राष्ट्र बैंकले सह अस्तित्व, उपस्थिति र सम्मानजनक मर्जरमा के भूमिका खेल्यो प्रश्न उठेको छ । गभर्नर महाप्रसाद अधिकारीले प्रश्नको जवाफ देलान कि एकीकृत कारोबारको भोज खालान् त्यो हेर्न बाँकी छ ।











