साल्ट ट्रेडिङ कर्पोरेशनले डाक्यो साधारण सभा, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकोछ । कम्पनीले यहि चैत १० गते त्रिभुवन आर्मी अफिसर्स् क्लब भद्रकाली काठमाडौंमा दिउँसो १२ः१५ बजेदेखि बस्नेगरी डाकेको हो ।
सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको १०% बोनस सेयर र ५% नगद लाभांश (कर सहित) गरी जम्मा १५% लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब लगायतमा पनि छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ७ जना सञ्चालक पदमा निर्वाचन गर्ने प्रस्ताव हुनेछ ।
साधारण सभा प्रयोजनका लागि यस कम्पनीले फागुन २६ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन २५ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।












