शेयरबजारमा झिनो अंकको गिरावट, ८ उपसूचक राताम्य हुँदा कारोबार खुम्चियो

काठमाडौं । आइतबार सामान्य सुधार देखिएको शेयरबजार फेरी ओरालो लागेको छ । केही दिनयता शेयरबजारमा लगातार गिरावट आएकोछ । राजनीतिक अस्थिरतासँगै घट्न पुगेको नेप्से इन्डेक्स आइतबार झिनो अंकले बढ्न पुगेको थियो ।
आज फेरी नेप्से सूचक ३.६५ अंकले घटेर २०२३ को विन्दुमा कायम हुन पुगेको छ । नेकपा एमाले सरकारबाट बाहिरिएसँगै नेकपाकै उपाध्यक्ष तथा अर्थमन्त्री विष्ण्ुा प्रसाद पौडेल बाहिरिने भएसँगै आज शेयरबजार फेरी घट्न पुगेको हो ।
नेप्सेमा सूचीकृत २५९ कम्पनीको ५१ लाख २० हजार ८८८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८९ करोड ३७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । अन्य दिनको तुलनामा आज लगानीकर्ताहरु निराश बन्दा कारोबार रकम समेत घट्न पुगेको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज होटल तथा पर्यटन, म्युचुअल फण्ड, निर्जीवन बीमा, ब्यापार र अन्य समूह बढका छन् भने बाँकी सबै उपसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी वित्त सूचकको १.६५ प्रतिशतले घटेको छ ।












