कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, जोकोहिले आवेदन दिन पाउने

१६ फाल्गुन २०७९, मंगलवार १०:३१

काठमाडौं । कुमारी बैंक लिमिटेडले २ लाख ९६ हजार कित्ता संस्थापक तर्फको शेयर फागुन १६ गतेदेखि बिक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता २१९ रुपैयाँमा विद्यमान संस्थापक शेयरधनीसँगै अन्य जो कोही व्यक्ति तथा संस्थाहरूले खरीद गर्न मिल्ने गरी यो शेयर विक्रीमा ल्याएको हो ।

इच्छुक खरीदकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी फागुन ३० गते अपरान्ह ३ बजेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । साथै बोलपत्र विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडको नागपोखरी नक्साल, काठमाडौंस्थित कार्यालयमा पेश गर्नुपर्ने छ ।

बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्नुपर्नेछ । आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्ने कम्पनीकोे भनाइ छ । शिलबन्दी खाम बाहिर आवेदनकर्ताले कुमारी बैंक लिमिटेडको संस्थापक शेयर खरीद आवेदनसमेत उल्लेख गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र चैत १ गते विक्री प्रबन्धकको कार्यालयमा विहान १० बजे खोलिने कार्यक्रम तय भइसकेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*