स्वावलम्बन लघुवित्तका एक कर्मचारीद्वारा रकम हिनामिना, पैसा दाखिला नगरेपछि मागियो राजिनामा

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका एक कर्मचारीले संस्थालाई बुझाउनुपर्ने रकम कार्यालयमा दाखिला नगरी हिनामिना गरेको पाइएको छ ।
संस्थाको शाखा कार्यालय लहान, सिरहाको सहायक प्रबन्धक पदमा कार्यरत रही फागुन २ गतेदेखि संस्थाको सम्पर्कमा नरही सो पश्चात् राजिनामा पेश गरेका साविक बथनाहा ९, महोत्तरी घर ठेगाना भएका संजय कुमार झाले संस्थालाई बुझाउनुपर्ने रकम संस्थामा दाखिला नगरी अपचलन गरेको पाइएको हो ।
झाले उक्त रकम हिनामिना गरी वित्तीय संस्थाको कर्मचारी सेवा विनियमावली बमोजिम कसुर गरेको पाइएकाले एै. विनियमावलीको ऐं विनिमय बमोजिमको सजाय प्रस्ताव गरी प्रस्ताव बमोजिमको काराबाही गर्न नपर्ने कुनै मनासिब कारण भएमा संस्थाले निजलाई ७ दिनभित्र लिखित स्पष्टिकरण पेश गर्न समेत भनेको थियो ।
संस्थाले निजलाई कारबाही गर्न नपर्ने कुनै कारण भएमा आफुसँग भएको सबुद प्रमाण सहित लिखित स्पष्टिकरण जवाफ संस्थाको शाखा कार्यालय लहान, सिरहा र इलाका कार्यालय लहान, सिरहा पेश गर्न ७ दिन अल्टिमेटम दिदा समेत उनले उक्त पत्र नबुझेको हुँदा संस्थाले सो पत्र पुनः फागुन १४ गते झाकै घर ठेगानामा पठाएको छ ।
संस्थाले ७ दिनभित्र उनलाई लिखित स्पष्टिकरण बुझाउन अनुरोध गरेको छ । उल्लिखित समयभित्र लिखित जवाफ पेश नगरेमा वा पेश गरेको स्पष्टिकरण जवाफ वित्तीय संस्थालाई सन्तोषजनक नभएमा संस्थाको कर्मचारी सेवा विनियमावली बमोजिम स्पष्टिकरण माग भएको पत्रमा उल्लेख गरिए बमोजिम वित्तीय संस्थाको सेवाबाट हटाइने कारबाही भैजाने संस्थाले जनाएको छ ।












