साँगुरीगढी गाउँपालिकाद्वारा दलित समुदायलाई निःशुल्क स्वास्थ्य बीमा

काठमाडौं । धनकुटाको साँगुरीगढी गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका दलित समुदायको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ। पाँच जनासम्मको परिवारलाई सरकारले तोकेको निश्चित रकम र सो सङ्ख्याभन्दा बढी भए प्रतिव्यक्ति थप बुझाउनुपर्ने सबै रकम पालिकाले तिरेकोे हो।
हालसम्म पालिकाले १ सय २१ दलित समुदायको निःशुल्क बीमा गरिदिएको पालिकाका स्वास्थ्य शाखाप्रमुखले जानकारी दिए। १० वडा भएको पालिकाको वडा नं ८ बाहेक सबै वडाका दलित परवारको बीमा गरिएको उनको भनाइ थियो।
गएको साउनदेखि पालिकाले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेर उक्त कार्यक्रम ल्याएको पालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए। “उत्पीडित र पछि परेका दलित समुदायलाई राज्यको उपस्थितिको प्रत्याभूति दिन यो सुविधा दिइएको हो”, उनले भने।
उक्त पालिकाले आफ्ना पालिकामा कार्यरत अन्य ५२ महिला स्वास्थ्य स्वयंसेवीकाको पनि निःशुल्क स्वास्थ्य बीमा गरिदिएको थियो।












