१७ लाख बढी निष्क्रिय डिम्याट खाताहरु बन्द गर्ने तयारीमा

काठमाडौं। १७ लाख बढी निष्क्रिय डिम्याट खाता बन्द हुने भएको छ। हाल १७ लाख बढी यस्ता निष्किय खाताहरु रहेका छन् ।ती खाताहरुमा आजसम्म कुनै कम्पनीको आवेदन दिएको रेकर्ड समेत छैन । यस्ता निष्क्रिय खाता बढ्न थालेपछि सीडीएस एण्ड क्लियरिङ (सीडीएससी)ले त्यस्ता खाता बन्द गर्न लागेको हो । विद्यमान कानुनले खातावालाको अनुमतिविना डिम्याट खाता बन्द गर्न पाइँदैन ।
यसकारण उक्त कानुनी व्यवस्थालाई परिमार्जन गरी तोकिएको समयसम्म निष्क्रिय रहेका डिम्याट खाता सीडीएससी आफैले बन्द गर्न पाउने व्यवस्थाका लागि नियामक निकाय धितोपत्र बोर्डमा लेखी पठाइएको सीडीएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले जानकारी दिए ।
सीडीएससीका अनुसार बुधबारसम्म ५५ लाख ७३ हजार डिम्याट खाता खुलेका छन् । ती मध्ये १३ लाख ५१ हजार ३ सय ७१ वटा निष्क्रिय छन् । त्यस्तै ३ लाख ८१ हजार खाता दोहोरिएका छन् भने १७ लाख ६३ हजार १ सय १३ वटा खाता सेयरविहीन छन् । ‘धितोपत्र बोर्डबाट अनुमति पाएपछि निश्चित समयभन्दा धेरै निष्क्रिय रहेका डिम्याट खाता बन्द गर्ने तयारी छ,’ आचार्यले भने, ‘कारोबार नहुने निष्क्रिय खाता त्यत्तिकै रहँदा सिस्टममा चाप पर्ने भएकाले त्यसलाई हटाउन खोजेका हौं ।’ हाल डिम्याट खाता खोल्दा र नवीकरण गर्दा एक सय रुपैयाँ शुल्क लाग्छ ।
सेयर पनि नभएका र लामो समयसम्म नवीकरण नभएका खाता अहिले नवीकरण गर्दा लगानीकर्ताले हरेक वर्ष १ सय रुपैयाँका दरले नवीकरण शुल्क तिर्नुपर्छ । जबकि सेयर नभएका निष्क्रिय खाता अहिले बन्द गर्ने र लगानीकर्ताले चाहेको समयमा एक सय रुपैयाँ तिरेर नयाँ खाता खोल्न सक्ने भएकाले निष्क्रिय खाता राखिरहनुको औचित्य नभएको आचार्यको भनाइ छ । ‘निष्क्रिय सबै खाता बन्द गर्न खोजिएको होइन । निश्चित समय चार÷पाँच कति वर्ष हुन्छ, त्यो अवधिभन्दा बढी समयसम्म निष्क्रिय रहेका खाता मात्र बन्द गर्न खोजेका हौं,’ उनले थपे, ‘यसको अर्थ खाता निष्क्रिय हुनासाथ बन्द गर्ने भन्ने होइन ।’












