जाल्पा सामुदायिक लघुवित्तको वित्तीय विवरण अझै पेन्डिङमा, बम्पर लाभांश के होला ?

२६ फाल्गुन २०७९, शुक्रबार ११:५१

काठमाडौं । गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई बम्पर लाभांश प्रस्ताव गरेको जाल्पा सामुदायिक लघुवित्तको वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट अझै पनि पारित भएको छैन ।

लघुवित्तको गत कात्तिक १९ गते बसेको संचालक समितिको बैठकबाट गत आव २०७८।७९ को वित्तीय विवरण प्रकाशन गर्न नेपाल राष्ट्र बैंकमा पेश गरेकोमा हालसम्म पनि स्वीकृति हुने क्रममा नै रहेको हुँदा संस्थाका शेयरधनीहरुले संस्थाको लाभांश अझै पनि कहिले पाउने टुंगो लागेको छैन । संस्थाले आज नेप्सेमार्फत जानकारी गराउँदै वित्तीय विवरण नेपाल राष्ट्र बैंकको स्वीकृतिको लागि पेश गरेकोमा स्वीकृति हुने क्रममै रहेको जनाएको छ ।

साथै नेपाल राष्ट्र बैंकको फागुन १० गतेको परिपत्र बमोजिम ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा लाभांश वितरण सम्बन्धी भएको व्यवस्थामा संशोधन गरिएको र संशोधित व्यवस्था बमोजिम नै हुने गरी लाभांश प्रस्ताव सहितको वित्तीय विवरण पेश गर्नु भनि फागुन १७ मा लघुवित्त संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले परिपत्र जारी गरेको थियो ।

नेपाल राष्ट्र बैंकले जारी गरेको सो निर्देशनमा लघुवित्त संस्थाहरुले कायम चुक्तापुँजीको २० प्रतिशत भन्दा बढी बोनस शेयर वितरण गर्न नपाउने व्यवस्था रहेको छ । लघुवित्तको निर्देशनबमोजिम नै जाल्पा सामुदायिक लघुवित्तले लाभांश प्रस्ताव गर्ने हो भने लघुवित्तले यसअघि प्रस्ताव गरेको लाभांशबाट करिब तेब्बर घटाउनुपर्ने देखिन्छ ।

संस्थाको कात्तिक १९ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कायम चुक्तापुँजीको ७३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.८४२१ प्रतिशत गरी कुल ७६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*