सबैभन्दा बढी चुक्तापुँजी रहेको छिमेक लघुवित्तका सिइओ चोलाराज शर्मा तथा अन्य पदाधिकारीहरुको कति छ तलब भत्ता ?

१ चैत्र २०७९, बुधबार १३:१०

काठमाडौं । लघुवित्त संस्थाहरुमध्ये सबैभन्दा बढी पुँजी रहेको छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चोलाराज शर्मा जोशीको वार्षिक तलब भत्ता ५८ लाख २० हजार रुपैयाँ रहेको छ ।

संस्थाको यहि चैत १० गते हुने २१औं वार्षिक साधारण सभामा संस्थाले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन पेश गरी सो उपर छलफल गरी पारित गर्नेछ । संस्थाले आफ्ना शेयरधनीहरुका लागि साधारण सभा हुनु अगावै २१औं वार्षिक प्रतिवेदन सार्वजनिक गरिसकेको छ ।

सार्वजनिक प्रतिवेदनमा संस्थाका सिइओ जोशीको वार्षिक तलब भत्ता ५८ लाख रुपैयाँमाथि देखाइएको छ । जसमा तलब मात्रै १० लाख ८० हजार, भत्ता वापत १८ लाख, दशैं भत्ता स्वरुप २ लाख ४० हजार, दुर्घटना बीमा वापत २३ लाख रुपैयाँ र औषधोपचार बीमा वापत २ लाख रुपैयाँ गरी सवा ५८ लाख रुपैयाँमाथि वार्षिक तलब बुझ्छन् ।

त्यस्तै, संस्थामा अन्य १० जना कार्यकारी पदाधिकारीहरुको वार्षिक तलब भत्ता भने एक करोड ६७ लाख ४०० रुपैयाँ छु्ट्याएको छ । संस्थामा व्यवस्थापकीय।प्रबन्धकलाई वार्षिक २ लाख रुपैयाँ देखि ३ लाख रुपैयाँसम्मको दुर्घटना बीमा तथा ११ लाख ५० हजार रुपैयाँदेखि १२ लाख ५० हजार रुपैयाँ बराबरको दुर्घटना बीमा छुट्याइएको छ ।

चैत १० गते हुन सभामा सो वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नेछ । साथै गत आवको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.२६ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

साथै संस्थाको अधिकृत पुँजी २ अर्ब ५० करोड रुपैयाँबाट बृद्धि गरी ३ अर्ब ७५ करोड रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्नेछ । यसका साथै बोनस शेयर जारी पश्चात् संस्थाको चुक्तापुँजी २ अर्ब ८३ करोड ५४ लाख रुपैयाँ पुग्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*