लाभांश प्रस्ताव सहित एनएमबि लघुवित्तले बोलायो साधारण सभा, कहिले हुदैछ बुकक्लोज ?

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।
लघुवित्तले वैशाख १५ गते, शुक्रबार, सिटि स्क्वायर प्रा.लि., न्यूरोड, पोखरामा दशौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा दिउँसो साढे १२ बजे शुरु हुनेछ ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले वित्तीय संस्थाको केन्द्रीय कार्यालय रहने ठेगाना सम्बन्धी संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले चैत १७ गतेदेखि वैशाख १५ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।











