जीवन विकास र एनएमबि लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । दुई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ जीवन विकास लघुवित्त र एनएमबि लघुवित्तले भोली अर्थात चैत १७ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्रै यी दुवै संस्थाको लाभांश पाउनेछन् ।
जीवन विकास लघुवित्तले चैत ३० गते आफ्नो केन्द्रिय कार्यालय, कटहरी २, मोरङ्गमा चौथो वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको १४.२८५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७१४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
एनएमबि लघुवित्तले वैशाख १५ गते, शुक्रबार, सिटि स्क्वायर प्रा.लि., न्यूरोड, पोखरामा दशौँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा दिउँसो साढे १२ बजे शुरु हुनेछ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।












