निषेधजन्य टुल्सहरू हटाउने, ब्याजदर घटाउने रणनीतिमा सरकार अघि बढ्दैछः अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले ब्याजदर घटाउने रणनीतिमा रहेको बताएका छन् । आज नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्रीले निषेधजन्य टुल्सहरु हटाउने र बैंकहरुको ब्याजदर समेत घटाउने रणनीतिमा रहेको बताएका हुन् ।
साथै अर्थमन्त्री महतले उद्यमीहरुको लगानीकै कारण अर्थतन्त्र चलायनमान हुने बताएका छन् । उनले भने, ‘अनावश्यक खर्च कटौती गरि अर्थतन्त्रलाई राज्यबाट जाने पुँजीको इन्फ्युजनलाई प्रभावकारी ढंगबाट अगाडी बढाएर अर्थतन्त्रलाई चलायनमान बनाउन राज्यले सहयोग गर्नेछ ।’ साथै अर्थमन्त्री महतले अर्थतन्त्र चलायनमा बनाउन सरकारले सहजकर्ताको भूमिका मात्रै निर्वाह गर्ने बताएका छन् ।
सभालाई सम्बोधन गर्दै अर्थमन्त्री महतले उद्यमीहरुका लागि ब्याजदर सहज बनाउने समेत बताएका छन् । उनले भने, ‘बैंकहरुको डिपोजिट रेट र लेन्डिङ बिचको रेटको फरकलाई बढाउने लगायतका कर्जा सम्बन्धी विषयलाई सहज बनाउन नेपाल राष्ट्र बैंक समक्ष कुरा भइरहेको छ ।’
साथै अर्थमन्त्री महतले आम उद्यमीहरुलाई समस्या चाँडै समाधान हुने र अर्थतन्त्र पुनः चलायमान हुने विश्वास समेत दिलाए । ‘लगानीको लागि बैंकबाट लिने लगानीमूलक ऋणहरु विस्तारित हुनेछ ।’ उनले भने, ‘जसले ऋण लिइसक्नु भएको छ उहाँहरुले पनि सहज रुपमा बैंकबाट लिएको ऋणहरु फिर्ता गर्नुपर्छ, तबमात्र अर्थतन्त्र चलायनमान हुन्छ र परिस्थिति सहज हुन्छ ।’
सभालाई सम्बोधन गर्दै अर्थमन्त्री महतले बैंकहरुबाट ऋण लिइसकेपछि ऋणे नतिर्ने भन्न नमिल्ने बताएका छन् । ‘सहुलियत दरमा लगानी ऋणहरु दिनसक्छौं, केही समय दिन सक्छौं, तर ऋण नतिर्ने कुरा हुन सक्दैन ।’ उनले भने ।











