२०७९ मा यस्तो रह्यो शेयर बजार ?

१ बैशाख २०८०, शुक्रबार १०:२६

काठमाडौं । आर्थिक बर्ष २०७९ सालको अन्तिम कारोबार दिनलाई सेयर बजारले रातो भएर बिदाई गरेको छ ।
२०७९ सालको अन्तिम दिन सूचक सामान्य नकारात्मक बने पनि नयाँ वर्ष २०८० मा भने पुँजी बजारमा केही सुधारको बाटो देखाउदै आशा देखाएको छ ।
यस बर्ष उच्च ब्याजदरकै कारण २०७९ सालभर सेयर बजार सुस्त हुँदा लगानीकर्ताको खरबौं रुपैयाँ गुमेको छ । वर्षभरि बजार समग्रमा घट्दोक्रममै रह्यो ।
२०७९ सालमा सूचकसँगै सेयर खरिदबिक्री रकममा पनि सुस्तता आउँदा लगानीकर्ता निराष हुनुपरेको थियो । २०७९ सालको अन्तिम दिन सेयर बजार सूचक नेप्से १९३४.४७ विन्दुमा बन्द भएको छ । जुन गत वर्ष अर्थात २०७८ सालको अन्तिम विन्दु (२४१५.२४) भन्दा १९.९१ प्रतिशत कम हो । नेप्सेले २०७९ वैशाख ११ गते कायम गरेको २४२०.९१ विन्दु यसवर्षकै उच्चतम विन्दु हो ।
यता, गत असोज ९ गतेको १८१२.१ विन्दु भने २०७९ सालको सबैभन्दा तल्लो अंकको रुपमा रहेको छ । २०७९ सालको अन्तिम दिन बिहीबार सेयर बजार पुँजीकरण २८ खर्ब १३ अर्ब ५५ करोड ३७ लाख रुपैयाँ कायम भएको छ ।
जुन एक वर्षअघि अर्थात वि.स. २०७८ को अन्तिम दिन ३४ खर्ब २६ अर्ब १० करोड ८८ लाख रुपैयाँ रहेको थियो । यसआधारमा हेर्दा, २०७९ सालमा नेप्सेको बजार पुँजीकरण १७.८८% अर्थात लगानीकर्ताको सम्पति ६ अर्ब १२ अर्ब ५५ करोड ५१ लाख रुपैयाँले घटेको छ ।

समग्रमा हेर्दा, २०७९ नेपाली पुँजी बजारको लागि खासै उत्साहजनक वर्ष रहेन । सुरुवातदेखि नै घटेको नेप्से परिसूचक अन्तिमसम्म पनि बढ्न सकेन । यस वर्षको सुरुवात हुनुभन्दा अघिदेखि नै सेयर बजार घट्ने क्रममा लागिसकेको थियो । विश्वव्यापीरुपमा फैलिएको कोरोनाको असर अनि रुस र युक्रेनबीच युद्धका कारण विश्व अर्थतन्त्रमा नै नकारात्मक असर पर्यो । यसको प्रभाव नेपाली अर्थतन्त्रमा पनि देखियो, अर्थतन्त्रको छाँया सेयर बजारमा पनि परिहाल्यो ।

२०७९ सालमै पुँजी बजार सुधार र विस्तारको माग राख्दै लगानीकर्ता तिलक कोइरालाले १० दिन सम्म आमरण अनसन बसेका थिए । १९ बुँदे माग राखेर अनसनमा बसेका कोइरालाको माग नेपाल धितोपत्र बोर्डले पूरा गर्ने प्रतिवद्धता जनाएपछि उनले अनसन तोडेका थिए । उनले राखेका मागमध्ये केही धितोपत्र बोर्डले सम्बोधन गर्ने प्रयास गरेको छ । यसै वर्ष बोर्डले नयाँ ब्रोकर, कमोडिटी एक्सचेन्ज र नयाँ स्टक एक्सचेन्जका लागि आवेदन खुला गर्यो ।

तथापि, निवार्चनको मुखमा लाइसेन्स बाँड्न लागेको भन्दै मुद्दा परेपछि उक्त पक्रिया रोकिएको थियो । तथापि, वर्षको अन्तिममा सर्वोच्च अदालतले उक्त मुद्दा खारेज गरिदिएको छ । यससँगै वर्षको अन्तिम दिन लाइसेन्स वितरणका लागि प्रक्रिया अघि बढेको छ । धितोपत्र बोर्डले बाँकी भएको समय थप गर्दै लाइसेन्सको लागि आवेदन खुला गरेको छ । अब यी तीन वटैले अनुमति पाउने लगभग निश्चित भएको छ ।

नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी मार्केट आएपछि आगामी दिनमा पुँजी बजारले थप फड्को मार्ने जानकारहरुले बताएका छन् । अब वर्ष २०८० मै यी कामले सार्थकता पाउने अनुमान गर्न सकिन्छ । यही वर्ष वैदेशिक रोजगारीमा गएकालाई आइपीओमा आरक्षण दिन थालिएको छ । यो पुँजी बजार र समग्र मुलुककै अर्थतन्त्रका लागि राम्रो कदम मानिएको छ । यता, यसै वर्षदेखि मर्जर तथा एक्विजिसनमा गएका कम्पनीहरुमा लगानीकर्ताको लामो समयसम्म सम्पति बन्दक हुने प्रक्रियाको अन्त्य भएको छ ।

योसँगै लामो समयसम्म सेयर कारोबार रोकिएका कम्पनीहरुको सेयर खरिदबिक्री फुकुवा भएको छ । यो पुँजी बजारका लागि सकारात्मक पाटो हो । यस्तै, गत वर्ष चैतमै बिमा प्राधिकरणले बिमा कम्पनीहरुको चुक्ता पुँजी बढाएको छ । जीवन बिमा कम्पनीले न्यूनतम ५ अर्ब र निर्जीबन बिमा कम्पनीहरुले न्यूनतम साढे २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने व्यवस्था गरेको छ । यही चैतसम्ममा सबैले तोकिएको पुजी पुर्याउनुपर्ने भनिए पनि व्यवहारमा यो कार्यान्वयन हुन भने सकेको छैन ।

यसबीचमा बिमा कम्पनीहरु धमाधम मर्जरमा गए । अझै केही कम्पनीहरु मर्जर प्रक्रियामै रहेका छन् । यसै वर्ष धितोपत्र बोर्डले दुई उर्जा व्यवसायी ज्ञानेन्द्रलाल प्रधान र गुरुप्रसाद न्यौपानेलाई आफैं सञ्चालक भएका कम्पनीको सेयर अनधिकृतरुपमा बिक्री गरेको भन्दै कारवाही गर्यो । तथापि, रिडी पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले धितोपत्र बार्डलाई आदेश दिएको छ ।

वर्षको अन्त्यमा धितोपत्र बोर्डले १४ ब्रोकरलाई २३ ठाउँमा शाखा खोल्न अनुमति दिएको छ । अनुमति पाएका ठाउँमा ब्रोकरहरुले शाखा विस्तार गरेपछि पुँजी बजार अझै विस्तार हुने अनुमान गर्न सकिन्छ । तथापि, यो वर्षको सुरुदेखि नै बैंक तथा वित्तीय संस्थामा तरलताको दबाब परिरह्यो । फलस्वरुपः ब्याजदर हालसम्मकै उच्च विन्दुमा पनि पुग्यो । त्यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा पनि पर्यो । तर, वर्षको अन्तिम समयमा बैंकहरुले ब्याजदर घटाएका छन् । त्यसको सकारात्मक प्रभाव सेयर बजारमा पर्ने अपेक्षा छ ।

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच खटपटका कारण पनि यो वर्ष सेयर बजारका लागानीकर्ता चपेटामा परेको जानकारहरुको भनाई छ । उनीहरुबीच आपसमा समन्वय हुन नसक्दा नीतिगत सुधार हुन सकेन । यसैबीच मुलुकले नयाँ अर्थमन्त्री पाएको छ । उनले अर्थतन्त्र सुधार हुँदै जाने बताएका छन् । अर्थमन्त्री प्रकाशशरण महत पुँजी बजारप्रति सकारात्मक बन्ने आम लगानीकर्ताको अपेक्षा छ ।

यो वर्षको अन्त्यमा आर्थिक सूचकहरु सवल बन्दै गएको केन्द्रीय बैंकको पछिल्ला तथ्यांकले देखाएको छ । २०८० को सुरुवातदेखि लागू हुने गरी बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर पनि घटाएका छन् । यसको सकारात्मक प्रभाव पुँजी बजारमा पर्ने अपेक्षा लगानीकर्ताले गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*