कृषि विकास बैंकमा भ्रष्टाचार र बेथिती बढ्दै, महालेखाले औल्यायो दर्जन समस्या

काठमाडौं । सरकारी लगानीमा सञ्चालित कृषि विकास बैंकभित्र दर्जनौं समस्या रहेको महालेखा परिक्षकको कार्यालयले औल्याएको छ । बैंकभित्र संस्थागत सुशासनकै समस्या देखिएको पाइएको छ ।
सरकारी लगानी भएकोले राजनीतिक हस्तक्षेपमा चल्दै आएको कृषि विकास बैंकको पछिल्लो अवस्था निरन्तर खस्किएको महालेखाले गरेको अडिटको क्रममा फेला परेको छ । सो क्रममा अधिकांश सूचांकमा समस्या रहेको महालेखाको निष्कर्ष छ ।
कृषि विकास बैंकको आन्तरिक शाखा कार्यालयहरुकै हिसाब मिलान हुन नसकेको पाइएको छ । कृषि विकास बैंकका एउटा शाखा र अर्को शाखाबीचको लेनदेनको विषयमा ३८ करोड ४२ लाख ४४ हजार रुपैयाँको हिसाब नमिलेको देखिएको हो । सो रकम के कति कारणले मिलान भएन ? खोजीको विषय बनेको छ । उल्लेखित तथ्यले कृषि विकास बैंकभित्र संस्थागत सुशासनको समेत कमजोरी रहेको तथ्य उजागर भएको छ ।
केही वर्ष पहिले कृषि विकास बैंकको सिराहा शाखाको सिष्टमबाट करोडौं रकम चोरी भएको थियो । सोही प्रकृतिको घटना हाल एभरेष्ट बैंकमा घटेको छ । कृषि विकास बैंकले आफ्नो शाखाभित्रको कारोबार समेत ३८ करोड रुपैयाँ मिलान गर्न सक्दैन भने सर्वसाधारणको हिसाब स्वच्छ र सही तरिकाले राखिएको भन्नेमा आशंका उत्पन्न भएको छ ।
बैंकले ब्याजदर गणना गर्दा आधार र प्रिमियम ब्याजदर गणना नगरी एकमुष्ठ गर्ने गरेको भन्दै महालेखा केन्द्रीय बैंकको नियमन उल्लंघन गरेको आरोप लगाएको छ । त्यस्तै बैंकले भाखा नाघेका तीन अर्ब २५ करोड ७७ लाख रुपैयाँ ऋण असुल नगरेको पनि महालेखाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
बैंकले अधिकांश कर्जा चालु प्रकृत्तिको प्रवाह गरेको उल्लेख गर्दै कृषि विकास बैंकको समग्र बैंकिङ कारोबार नै परिवर्तन गर्नुपर्ने सुझाव दिएको छ । महालेखाले कृषि विकास बैंकको चालु प्रकृत्तिको कर्जा ४८.६६ प्रतिशत रहेको भन्दै उक्त कर्जाहरुलाई मिलाउनुपर्ने सुझाव दिएको छ ।
बैंकभित्र धितो मूल्याङ्कन प्रणालीमा समस्या रहेको भन्दै दवाव, प्रभावको भरमा धितो मूल्याङ्कन हुँदै आएको पाइएको छ । साथै महालेखाले नियामको सुझावहरु कृषि विकास बैंकमा पालना नभई संस्थागत सुशासन भद्रगोल रहेको चेतावनी दिएको छ ।











