बैशाखमा तीन कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्दै, कुनले कति ?

३ बैशाख २०८०, आईतवार १३:५७

काठमाडौं। वैशाखमा तीन कम्पनीले सर्वसाधारणलाई आइपीओ निष्काशन गदैछ । बैशाख महिनामै सिटी होटल, मेन्छियाम र माई खोला हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न लागेको हो ।मेन्छियाम हाइड्रोपावरले २०८० वैशाख ४ गतेदेखि आइपीओ निष्काशन गदैछ । कम्पनीले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता आइपीओ जारी गर्न लागेको हो । यस कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ जारी गरिसकेको छ ।

त्यस्तै, ५ प्रतिशत (५६ हजार ९९ कित्ता) सामूहिक लगानी कोष र २प्रतित (२२ हजार ४३९ कित्ता) कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ९ लाख ३४ हजार ९१५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा वैशाख ७ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख १९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । यता, माई खोला हाइड्रोपावरले वैशाख ८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १२ लाख ६९ हजार ४११ कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

कुल १५ लाख २९ हजार ४११ कित्ता सेयरमध्ये ७६ हजार ४७१ कित्ता म्युचुअल फन्ड र ३० हजार ५८८ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गर्न लागेको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । यसमा वैशाख १२ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्ममा सबै सेयर बिक्री नभएमा भने वैशाख २४ गतेसम्म आवेदन खुला रहनेछ ।

त्यस्तै, सिटी होटलले सर्वसाधारण लगानीकर्तालाई २०८० वैशाख २५ गतेदेखि आइपीओ निष्कासन गर्न लागेको छ । यो होटलले आफ्नो जारी पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १०% ले हुन आउने १६ करोड ७४ लाख रुपैयाँ बराबरको आइपीओ ल्याउने भएको हो । सो मध्ये १०% (१ लाख ६७ हजार ४ सय कित्ता) सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याएको छ ।
हाल वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आवेदन खुला भइरहेको छ । वैदेशिक रोजगारीमा रहेकाले वैशाख ५ गतेसम्म आवेदन दिन सक्नेछन् । जारी पुँजीको ४% (६६ हजार ९६० कित्ता) सेयर कर्मचारी र ५% (८३ हजार ७ सय कित्ता) सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।सर्वसाधारण लगानीकर्ताले यसमा वैशाख २८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ ८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*