दुई विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । दुई विकास बैंकले संस्थापक समुहतर्फको शेयर बिक्री गर्ने भएको छ । एक्सेल डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले सो शेयर बिक्री प्रक्रिया अघि बढाएको हो ।
एक्सेल डेभलपमेन्ट बैंकका विद्यमान संस्थापक शेयरधनी लेखनाथ घिमिरेले आफ्नो नाममा रहेको २७ हजार ७१८ कित्ता शेयर बिक्री गर्न लागेको हो । उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय विर्तामोड, झापामा बोलपत्र पेश गर्न सक्नेछन् ।
साथै महालक्ष्मी विकास बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको ७५ हजार कित्ता र एक लाख १० हजार कित्ता शेयर बिक्री गर्नको लागि निवेदन दिएबमोजिम उक्त शेयर बिक्री गर्नको लागि बैंकले ३५ दिने सूचना प्रकाशित गरेको हो ।
सो शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा सम्पर्क गरी खरिद गर्न सक्नेछन् । यी दुवै बैंकले तोकेको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य कोही ब्यक्ति तथा संस्थालाई बिक्री गरिने जनाइएको छ ।












