नेष्डो समृद्ध लघुवित्तलाई १७.९३ प्रतिशत लाभांश वितरण गर्न राष्ट्र बैंकको निर्देशन

५ बैशाख २०८०, मंगलवार १०:२६

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको प्रस्तावित लाभांशमा राष्ट्र बैंकले कैचि चलाएको छ । लघुवित्तलाई राष्ट्र बैकले १७.९३४२ प्रतिशत लाभांश वितरण गर्न निर्देशन दिएको छ ।

लघुवित्तले चुक्ता पुँजीको ७३.६८४२१० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरी राष्ट्र बैंकमा अनुमतिका लागि पठाएको थियो । यसअघि लघुवित्तले हालको चुक्ता पूँजीको ५० प्रतिशत बोनस शेयर, २० प्रतिशत नगद लाभांश, र कर प्रयोजनको लागि छुट्टै ३.६८४२ गरि कुल ७३.६८४२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी २५ करोड ५० लाख रहेको छ ।

केन्द्रीय बैंकले यसअघि लघुवित्तहरुलाई लाभांश वितरणमा कडाई गरी निर्देशन जारी गरेको थियो । लघुवित्तहरुले २० प्रतिशत भन्दा बढी लाभांश बाँड्न नपाउने र जगेडा कोष यावतका विभिन्न कोषहरुमा थप रकम संचित गरेमा मात्रै सो प्रतिशतभन्दा बढी लाभांश बाँड्न पाउने व्यवस्था गरेको थियो ।

लघुवित्तको संचालक समितिले भने राष्ट्र बैंकको यो निर्देशन कार्यान्वयन गर्न नसकिने निर्णय गरेको छ । राष्ट्र बैंकको लाभांश घटाउने निर्देशन २०७९ फागुन १० गते जारी शंसोधित निर्देशनको व्यवस्थासंग स्पष्ट वाझिएको, नेपाल राष्ट्र बैंकवाट इजाजत प्राप्त एउटै प्रकृतीका संस्था विच एउटै आर्थिक वर्षको लाभांश स्वीकृती दिंदा समानता नभएको र नेपाल राष्ट्र वैंकवाट स्वीकृत लाभांशको जानकारीले शेयरधनिले पाउने प्रतिफलको अधिकार समेत हनन हुन पुगेको, संस्थागत वित्तीय अवस्थामा समेत प्रभाव पर्ने देखिएको, लाभांश वितरण सम्वन्धमा बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐनमा भएको व्यवस्थाको समेत प्रतिकुल भएको र लाभांश प्रस्ताव तथा शंसोधन संस्थावाट नै निर्णय भई नेपाल राष्ट्र बैंकवाट स्वीकृत दिनुपर्ने कानूनी मनसायलाई समेत नजरअन्दाज गरिएको देखिएकोले नेपाल राष्ट्र बैंकको उक्त निर्णय एवम् जानकारीलाई तुरुन्त कार्यान्वयन प्रक्रिया अगाडी वढाउन नसकिने निर्णय कम्पनीले गरेको छ ।

राष्ट्र वैंकको विद्यमान निर्णय तथा स्वीकृती, प्रचलित ऐन, कानून, निर्देशन र केन्द्रिय बैंकका विगतका व्याख्या र संस्थागत अभ्यास समेतको तथ्यपुर्ण कानूनी व्याख्या गरी निर्णयमा पुग्ने निर्णय कम्पनीले गरेको छ । अर्थात् कम्पनीले यस अघि भने जस्तै यो विषय अदालत लैजाने भएको छ ।

नेष्डो लघुवित्तले राष्ट्र बैंकबाट प्राप्त भएको पत्र नेपाल स्टक एक्चेन्ज, नेपाल धितोपत्र वोर्ड लगायत सरोकारवाला निकायमा जानकारी गराउने निर्णय गरेको छ ।
लघुवित्तका प्रबन्ध संचालक विश्व प्रकाश पसाईले जगेडा कोष लगायतका विभिन्न कोषहरुमा थप रकम जम्मा गर्दा समेत राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएको बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*