मुक्तिनाथ विकास बैंकको खुद मुनाफा र प्रतिशेयर आम्दानी दुबै घट्यो

मुक्तिनाथ विकास बैंकको खुद मुनाफा घटेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ८० करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २६।०९ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १९।८४ प्रतिशत बढेको छ। निष्क्रिय कर्जा ०।१७ प्रतिशतबाट बढेर १।९९ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज बढेर ७७ करोड पुगेपछि बैंकको सञ्चालन मुनाफा २१।०३ प्रतिशत घटेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ करोड ५२ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ७ रुपैयाँ ३२ पैसा घटेर १६ रुपैयाँ ७४ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २४।१३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ४९ पैसा रहेको छ।











