नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको यस्तो देखियो तेस्रो त्रैमासिक वित्तीय विवरण

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा ३ अर्ब ४ करोड ६१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेड एकआपसमा मर्ज भएपश्चात् बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तेस्रो त्रैमाससम्म ३ अर्बमाथि नाफा कमाएको हो ।
बैंकले आर्जन गरेको यो नाफा गत आवको तुलनामा २२.९६% ले बढी हो । गत वर्षको यसैअवधिमा यस बैंकले २ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ भने इम्पेयरमेन्ट चार्ज रिभर्स भएको छ । यसले पनि नाफा बढ्न टेवा दिएको हो । खुद ब्याज आम्दानी ९९.४९% र सञ्चालन नाफा ५५.८६% ले बढेको छ । वितरणयोग्य नाफा भने १ अर्ब २७ करोड रुपैयाँ ऋणात्मक छ ।
मर्जरपछि बैंकको चुक्ता पुँजी ८६.४२% ले बढेर ३४ अर्ब १२ करोड ८२ लाख ९५ हजार रुपैयाँ पुगेको छ । चुक्ता पुँजी बढेको आधारमा बैंकको नाफा बढ्न नसक्दा प्रतिसेयर आम्दानी केही दबाबमा परेको छ । बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ८४ पैसाले घटेर १५ रुपैयाँ २ पैसामा आएको छ । इम्पेयरमेन्ट चार्ज ७० करोड १९ लाख रुपैयाँ रिभर्स भएको छ ।
यस अवधिसम्म बैंकको कर्जा लगानी ८९.५१ प्रतिशतले बढेर ३ खर्ब ५० अर्ब १९ करोड ७८ लाख रुपैयाँ पुगेको छ भने निक्षेप संकलन ९८.०५ प्रतिशतले बढेर ३ खर्ब ११ अर्ब २४ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।र












