बीओकेलाई प्राप्ति गरेको ग्लोबल आइएमई बैंकको वितरणयोग्य नाफा घट्यो, खुद नाफा कति ?

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ अर्ब ३५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । साविक बैंक अफ काठमाण्डूलाई प्राप्ति गरेको यस बैंकले आर्जन गरेको यो नाफा गत आवको तुलनामा १६.९६ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको यही अवधिसम्म बैंकले ३ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । तेस्रो त्रैमाससम्म बैंकले ६ अर्ब ६ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १७.२० प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिसम्म यस्तो मुनाफा ५ अर्ब १७ करोड रुपैयाँमा सीमित थियो । यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ५८.५० प्रतिशतले बढेर ११ अर्ब ७९ करोड रुपैयाँ भएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ७ अर्ब ४३ करोड रुपैयाँमा सीमित थियो । यस अवधिसम्म बैंकको खुद ब्याज आम्दाी र संचालन मुनाफा दुवै बढेका कारण बैंकको नाफा बढ्न पुगेको हो ।
यस अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ९६ करोड २६ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब ९१ करोडरुपैयाँ रहेको थियो ।
बैंकले १ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५८ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
चुक्तापुँजी ३५ अर्ब ७७ करोड रुपैयाँको बैंकको रिजर्भको आकार भने ७८.११ प्रतिशतले बढेर १९ अर्ब ६ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १० अर्ब ७० करोड रुपैयाँ थियो ।
समीक्षा अवधिसम्म बैंकको ईपीएस घटेर १७.०८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २०.८८ रुपैयाँ थियो। पीई रेसियो १२.३२ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५५.९९ रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात (एनपीएल)भने बढेर ३.९६ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल १.४५ प्रतिशतमा सीमित थियो ।
खराब कर्जा बढ्दा बैंकको इम्पेयरमेन्ट चार्ज पनि बढेर २ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज ४३ करोड ५६ लाख रुपैयाँमा सीमित थियो।












