मर्जर प्रस्ताव पारित गर्न नेरुडे र मिर्मिरे लघुवित्तको विशेष साधारण सभा आज बस्दै

काठमाडौं । मर्जर प्रस्तावसहित नेरुडे र मिर्मिरे लघुवित्तको विशेष साधारण सभा आज (वैशाख १०) गते आइतबार बस्दैछ । नेरुडेको सभा विराटनगर महानगरपालिकास्थित् उद्योग संगठनको सभा हलमा बिहान ११ बजे सुरु हुनेछ । यस्तै, मिर्मिरेको सभा, होटल सारथी, धुलिखेलमा अपरान्ह १२ः३० बजे सुरु हुनेछ ।
नेरुडे र मिर्मिरे लघुवित्त १ः१ अनुपातमा मर्ज हुने प्रस्ताव सभामा पेश हुनेछ । यसअघि नै दुई कम्पनीबीच १ः१ स्वाप रेसियोमा मर्ज हुने प्रारम्भिक सहमति भइसकेको छ ।
मर्ज भएपछि कम्पनीको नाम नेरुडे मिर्मिरे लघुवित्त राख्ने प्रस्ताव पनि छ । दुवै लघुवित्तको सभाले एकआपसमा मर्जर गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेन्डा पेश गर्नेछन् । मर्जपछि जारी पुँजी, चुक्ता पुँजी र सोही अनुसार सेयर संरचना परिवर्तन हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुनेछ ।
यही चैत १६ गते नेरुडे र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ । बिराटनगरमा रजिष्टर्ड कार्यालय रहेको नेरुडे र बनेपामा रजिष्टर्ड कार्यालय रहेको मिर्मिरे लघुवित्तबीच गत पुस ११ गते एकआपसमा मर्ज हुने प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।











