हिमालयन स्टकसँग छुट्टिएको समूह नेशनल स्टक एक्सचेन्जको यसरी भयो जन्म, कसको कति छ लगानी ?

काठमाडौं । हिमालयन स्टकसँग सामूहिक रुपमा लगानी गर्ने वातावरण नमिलेपछि नेशनल स्टक एक्सचेन्जले नेपाल धितोपत्र बोर्डमा आज छुटै स्टक कम्पनी दर्ता गराएको छ ।यसअघि हिमालयन स्टकमा गैरआवासीय नेपाल संघका पूर्वअध्यक्ष उपेन्द्र महतो र जिवा लामिछानेलाई पनि जोड्ने छलफल भएपनि आन्तरिक द्धन्द्धको कारण सम्भव हुन नसकनेपछि नेशनल स्टकको जन्म भएको हो ।
यो समूहमा आइएमई गुप्रका चन्द्र ढकालको लगानी छैन । यसअघि शंकर गुप्रले चन्द्र ढकाललाई पनि आफनो टिममा सहभागी गर्ने सोच बनाएर पुन पछाडि परेको थियो । यो समूहले पनि छुटै स्टक बोर्डमा दर्ता गर्दैछ ।दीपक तिमिल्सिना, गैरआवासीय नेपाली, सिद्धार्थ गुप्र, अग्नि ग्रुप, रिलायन्स ग्रुपको मुख्य लगानी रहेको नेशनलले आइतबार बोर्डमा आवेदन दिएको हो।सर्वोच्च अदालतले अर्को स्टक स्थापनाका लागि बाटो खोलिदिएपछि लाइसेन्स लिन ठूला कर्पोरेट घरानाबीच प्रतिष्पर्धा चर्को छ। दीपक मालिका आयलका अध्यक्ष हुन्।
निजी क्षेत्रको पेट्रोलियम कारोबार गर्ने भन्दै स्थापना भएको उनको कम्पनीले तेल कारोबार भने गर्न सकेन। यो बाहेक तिमिल्सिना स्मार्ट टेलिकमका पनि संचालक भइसकेका छन्। उनले नै नयाँ स्टकको राजनीतिक वातावरण तयार पारेर व्यवसायिक समूहलाई एकताबद्ध बनाएका हुन्। तिमिल्सिनाको सबै राजनीतिक दलसँग नजिकको सम्बन्ध छ।
बोर्ड स्रोतका अनुसार यो कम्पनीमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने, संघका वर्तमान अध्यक्ष बद्री केसी, कुल आचार्य र महासचिव गौरी जोशीको लगानी छ। बेलायत बसेर व्यापार गरिरहेका रविजंग लामिछानेको पनि नेशनलमा लगानी छ।
यो बाहेक अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठको समेत यो कम्पनीमा लगानी छ। नेशनलमा सिद्धार्थ बैंकका अध्यक्ष मनोज केडियाको पनि लगानी छ।कम्पनीमा रिलायन्स ग्रुपको समेत लगानी छ। रिलायन्स ग्रुपमा विनोदकुमार अग्रवाल, नारायण तोदी, भरतकुमार तोदी, ऋषि अग्रवाल लगायतको लगानी छ।
बोर्डले दिएको समय आज सकिँदैछ। बोर्डले गत बिहीबार सूचना जारी गर्दै नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार कम्पनी स्थापनाका लागि प्रक्रिया अगाडि बढाएको थियो। बोर्डले १० दिनको समय दिँदै इच्छुकसँग आवेदन माग गरेको थियो।












