नबिल बैक र एनआईसी एशिया बैंकबीच टक्कर, कुन वित्तिय सूचकमा कस्को अवस्था कस्तो ?

काठमाडौं । वाणिज्य बैंकहरूले नौ महिनाको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। २१ बैंकमध्ये नाफामा नबिल पहिलो र एनआईसी एसिया बैंक दोस्रोमा छ। दुबै बैंक दोस्रो बजारमा पनि महँगोमा किनबेच हुने कम्पनीमा पर्छन्।
त्यस्तै, लाभांश दिने आधारमा हेर्दा एनआईसी एशिया अब्बल देखिन्छन् । दुई आर्थिक बर्ष लाभांश नदिएको कम्पनीको वित्तिय अवस्था थप बलियो देखिएको छ।
नबिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ५ अर्ब ११ करोड नाफा गर्दा एनआईसी एसियाले ४ अर्ब १ अर्ब नाफा कमाएको छ। तर अन्य सूचकमा भने दुवै बैंक अब्बल देखिएका छन्। नविल बैंकको दोस्रो बजारमा ६०९ रुपैयाँमा कारोबार भइरहेको छ भने एनआईसी एसियाको ७२३ रुपैयाँमा कारोबार भइरहेको छ।
कुनको सूचक कस्तो ?
एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंक लिमिटेडको खुद नाफा सामान्य बढेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.३८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.६१ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १४.२७ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा १३.१० प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ अर्ब २ करोड ३१ लाख रुपैयाँ रहेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ३५ पैसा बढेर ४६ रुपैयाँ २९ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५.४४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४८ रुपैयाँ ८८ पैसा रहेको छ।
पछिल्लो दुई वर्षदेखि लाभांश वितरण गर्न नपाएको यस बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड रहेको छ भने जगेडा कोषमा १७ अर्ब २१ करोड रुपैयाँ सञ्चित छ। पछिल्लो ९ महिनामा बैंकको निक्षेप ८.५९ प्रतिशत बढेको छ भने कर्जा ५.४५ प्रतिशत बढेको छ।नबिल बैंक
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नबिल बैंकको खुद नाफामा उत्साहजनक बढोत्तरी भएको छ। सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ५२.६३ प्रतिशतले उकालो लागेको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद नाफा ३ अर्ब ३५ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर ५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७७ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २ अर्ब २० करोड रुपैयाँ रहेको थियो।
तेस्रो त्रैमाससम्म बैंकले ७ अर्ब ४८ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ५६.५४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो मुनाफा ४ अर्ब ७८ करोड रुपैयाँमा सीमित थियो। यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ८३.६२ प्रतिशतले बढेर १२ अर्ब १० करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ६ अर्ब ५९ करोड रुपैयाँमा सीमित थियो।
बैंकले ३ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो। चुक्तापुँजी २७ अर्ब ५ करोड रुपैयाँको बैंकको रिजर्भको आकार भने ६.१५ प्रतिशतले घटेर २५ अर्ब ५७ करोड रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष रिजर्भमा २७ अर्ब २४ करोड रुपैयाँ थियो।
समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात (एनपीएल)भने बढेर ३.८७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल १.१४ प्रतिशतमा सीमित थियो। खराब कर्जा बढ्दा बैंकको इम्पेयरमेन्ट चार्ज पनि ४४५.७२ प्रतिशतले बढेर ३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज ६१ करोड ५ लाख रुपैयाँमा सीमित थियो। ईपीएस भने बढेर २५.२१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १९.५७ रुपैयाँ थियो। पीई रेसियो २४.५५ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २०१.०७ रुपैयाँ पुगेको छ।
एनआईसी एसिया बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड रहेको छ भने नबिल बैंकको चुक्ता पुँजी २७ अर्ब ०५ करोड रहेको छ। एनआईसी एसिया बैंकले विगत दुई आर्थिक वर्ष देखि लाभांश दिएको छैन।
वितरणयोग्य नाफाः एनआईसी एसिया बैंक अघि छ। एनआईसी एसिया बैंकको वितरणयोग्य नाफा ३ अर्ब ०२ करोड रहेको छ भने नबिल बैंकको वितरणयोग्य नाफा १ अर्ब ७७ करोड रहेको छ।
जगेडा कोषको आधारमाः जगेडा कोषलाई हेर्ने हो भने नबिल बैंकको बढी छ। नबिल बैंकको जगेडा कोषमा २५ अर्ब ५७ करोड रहेको छ भने एनआईसी एसिया बैंकको जगेडा कोषमा १४ अर्ब १९ करोड रहेको छ।
निक्षेप र कर्जाको आधारमाः एनआईसी एसिया बैंकले ३ खर्ब १४ अर्ब निक्षेप संकलन गरी २ खर्ब ६६ अर्ब कर्जा प्रवाह गरेको छ भने नबिल बैंकले ३ खर्ब ६३ अर्ब निक्षेप संकलन गरी ३ खर्ब २३ अर्ब कर्जा प्रवाह गरेको छ।
खुद ब्याज आम्दानीको आधारमा : चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा एनआईसी एशिया बैंकले ९ अर्ब २१ करोड खुद ब्याज आम्दानी गरेकोमा नबिल बैंकले १२ अर्ब १० करोड खुद ब्याज आम्दानी गरेको छ।
खुद मुनाफा : तेश्रो त्रैमासको वित्तीय विवरणको आधारमा एनआईसी एशिया बैंकले ४ अर्ब ०१ करोड खुद नाफा गरेकोमा नबिल बैंकले ५ अर्ब ११ करोड खुद नाफा गरेको छ ।
किताबी मूल्य :एनआईसी एशिया बैंकको किताबी मूल्य २४८ रुपैयाँ ८८ पैसा छ भने नबिल बैंकको किताबी मूल्य २०१ रुपैयाँ ०७ पैसा छ।
वार्षिक प्रति सेयर आम्दानी : वित्तीय विवरणको आधारमा एनआईसी एशिया बैंकको वार्षिक प्रतिसेयर आम्दानी ४६ रुपैयाँ छ भने नबिल बैंकको वार्षिक प्रति शेयर आम्दानी २५ रुपैयाँ छ।
खराब कर्जा : एनआईसी एसिया बैंकको खराब कर्जा शुन्य दशमलव ८५ प्रतिशत रहेकोमा नबिल बैंकको ३ दशमलव ८७ प्रतिशत छ।
मूल्य आम्दानी अनुपात : बैशाख ७ गतेको बजार मूल्य अनुसार एनआईसी एसिया बैंकको मूल्य आम्दानी अनुपात १५ गुणा रहेको छ भने नबिल बैंकको २४ गुणा रहेको छ।











