कुन बैङ्कमा पाइन्छ सबैभन्दा सस्तो ब्याजमा ऋण ?(सूची सहित)

काठमाडौं । अहिले आफ्नो कमाइले मात्रै आफूलाई आवश्यक पर्ने घर, जग्गा, गाडी खरिद वा बन्द ब्यापार गर्न सकिदैन । यसको लागि बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिनै पर्छ ।तर, सबै बैंकको ब्याजदर एउटै छैन । कुनै बैंकबाट त्यही कामको लागि ऋण लियो भने महंगो ब्याज पर्छ, कुनैबाट लिदा सस्तो पर्छ ।
त्यसो भए कुन बैंकबाट ऋण लिदा सस्तो ब्याजमा पैसा पाइन्छ त भन्ने प्रश्न उठ्न सक्छ । यसको लागि तपाइले बैंकहरुको आधार दर (बेस रेट) कति छ भनेर हेर्नुपर्ने हुन्छ ।बैंक तथा वित्तीय संस्थाहरुले प्रत्येक त्रैमासमा प्रकाशित गर्ने वित्तीय विवरणमा आधार दर प्रकाशित गर्ने गरेका हुन्छन् । यो आधार दरले नै कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिदा सस्तो वा महंगो ब्याज तिर्नु पर्छ भन्ने संकेत गरिसकेको हुन्छ ।
बैंकहरुले ऋण दिदा वित्तीय विवरणमा प्रकाशित गर्ने आधार दरभन्दा केही महंगो ब्याज लिन्छन् । नेपाल राष्ट्र बैंकले गरेको नीतिगत ब्यवस्थामा नै आधार दरमा प्रिमिय जोडेर कर्जाको ब्याज लिन पाइने भनिएको छ । बैंकहरुले यस्तो प्रिमियम ०.५ प्रतिशतदेखि ३ प्रतिशतसम्म लिने गरका छन् ।
आधार दरमा कतिसम्म प्रिमिय जोडर कर्जाको ब्याजदर कायम गर्ने भन्ने विषयमा नेपाल राष्ट्र बैंकले स्पष्टसँग नभनेको भएपनि अर्काे नीतिगत ब्यवस्थाले यसलाई नियमन गर्ने गरेको छ । त्यो भनेको निक्षेप र कर्जाको ब्याज अन्तर (स्प्रेड) दर हो ।राष्ट्र बैंकले बैंकहरुलाई निक्षेपमा दिने ब्याज र कर्जामा लिने ब्याजको अन्तर ५ प्रतिशतभन्दा बढी हुनै नहुने नीतिगत ब्यवस्था गरेको छ ।
ऋणको ब्याजदर निर्धारण हुने मुख्य आधार भनेको बेस रेट (आधार दर) हो । बैङ्क तथा वित्तीय संस्थाले प्रवाह गर्ने ऋणको न्युनतम ब्याजदर कति हुनुपर्छ भन्ने संकेत आधारदर हो । राष्ट्र बैङ्कको नियम अनुसार राख्नुपर्ने तरलता, निक्षेपकर्तालाई दिने ब्याज, बैङ्कका कर्मचारीको तलब भत्ता, बैङ्क सञ्चालनका लागि लाग्ने घरभाडा लगायतका खर्च धान्ने गरी बैङ्कहरुले ब्याजदर निर्धारण गर्छन् । स
ब्याज कतिसम्म भयो भने बैङ्कलाई घाटा हुदैन भनेर निकालिने हिसाब आधारदरको गणना विधि हो ।
बैङ्कहरुले प्रकाशित गरेको वित्तीय विवरणको आधारमा हामीले कुन बैङ्कले सस्तोमा ऋण दिएलान् भनेर केलाउन खोजेका छौँ ।
कुन बैंकको ऋण सस्तो पर्छ ?

स्रोत: सम्बन्धित बैङ्कले प्रकाशित गरेको वित्तीय विवरणमा आधारित
बैंकहरुले गत चैत मसान्तसम्मको आफ्नो वित्तीय विवरण प्रकाशित गरेका छन् । उनीहरुले प्रकाशित गरेको आधार दरले नै कुन बैंकबाट ऋण लिदा सस्तो पर्ने र कुनको महंगो पर्ने भन्ने संकेत गर्छ ।बैंकहरुले ऋण दिदा आधार दरमा प्रिमियम जोड्ने भएकोले सकेसम्म कम जोड्न बैंकलाई तपाइ आफैले आग्रह गर्नुपर्ने हुन्छ ।
बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार सबैभन्दा कम आधार दर राष्ट्रिय बाणिज्य बैंकको छ । यसको अर्थ राष्ट्रिय बाणिज्य बैंकबाट ऋण लिदा सबैभन्दा कम ब्याज तिर्नुपर्छ भन्ने नै हो ।तर, उसले आधार दरमा बढी प्रिमियम जोड्यो र राष्ट्रिय बाणिज्य बैंककोभन्दा आधार दर बढी भएको बैंकले आधार दरमा नगन्य प्रिमियम जोड्यो वा जोड्दै नजोडि दियो भने अर्काे बैंकबाट सस्तोमा कर्जा पाइदैन भन्ने पनि होइन ।मर्जरपश्चात् संचालनमा रहेका २१ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
प्रकाशित वित्तीय विवरण अनुसार सबैभन्दा कम बेसरेट राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । समिक्षा अवधिसम्ममा बैंकको बेसरेट ८ दशमलव ४७ प्रतिशत रहेको छ ।
त्यस्तै, स्टाण्डर्ड चार्टट बैंकको ९.२७ प्रतिशत बेसरेट, एनएमबि बैंकको १०.६१, एनआइसी एशिया बैंकको १०.४८, सिद्धार्थ बैंंकको १०.४५, कृषि विकास बैंकको १०.२७, नविल बैंकको ९।९९, एभरेष्ट बैंकको ९.९४ वेसरेट रहेको छ।
समिक्षा अवधिसम्ममा बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार प्राइम कमर्सियल बैंकको बेसरेट सबैभन्दा बढी रहेको छ । समिक्षा अवधिसम्ममा बैंकको बेसरेट ११ दशमलव ५० प्रतिशत रहेको छ । त्यस्तै, दोस्रोमा सनराइज बैंक रहेको छ । सनराइज बैंकको बेसरेट ११ दशमलव ३४ प्रतिशत रहेको छ । यसको साथै, तेस्रो नम्बरमा माछापुच्छे बैंक रहेको छ । समिक्षा अवधिसम्मा बैंकको बेसरेट ११ दशमलव ३१ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सिटिजन्स बैंकको बेसरेट ११ दशमलव १४ प्रतिशत, लक्ष्मी बैंकको बेसरेट ११ दशमलव ९ प्रतिशत, नेपाल एसबिआई बैंकको बेसरेट ११ दशमलव ०८ प्रतिशत, प्रभु बैंकको बेसरेट ११ दशमलव ७ प्रतिशत, हिमालयन बैंकको बेसरेट ११ दशमलव ६ प्रतिशत, ग्लोबल आइएमई बैंकको बेसरेट १० दशमलव ६९ प्रतिशत, सानिमा बैंकको बेसरेट १० दशमलव ६३ प्रतिशत रहेको छ ।











