बैंकहरूको आधारदर घट्यो, कर्जाको ब्याजदर सस्तिँदै

१४ बैशाख २०८०, बिहीबार १५:०२

काठमाडौं। वाणिज्य बैंकहरूको आधारदर घटेको छ । तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार आधारदर घटेको हो । बैंकको रिर्पोट अनुसार आधारदर घटेको देख्दा थप कर्जाको ब्याजदर सस्तो हुने देखिएकोछ ।सञ्चालनमा रहेका २१ वाणिज्य बैंकमध्ये १७ बैंकहरूको बेस रेट चालू आवको दोस्रो त्रैमासको तुलनामा घटेको छ । बैंकहरूले १२.१३३ प्रतिशत रहको मुद्दती निक्षेपको ब्याजदर गत माघबाट ११ प्रतिशतमा झारेका थिए । यसले बैंकहरूको आधारदर तेस्रो त्रैमासमा घटेको हो । १ वैशाखदेखि लागू हुने कर्जाको ब्याजदर पनि आधारदर घटेको अनुपातमा स्वतः घट्नेछ ।

गत पुसको तुलनामा चैतमा नेपाल बैंक, हिमालयन बैंक, नेपाल एसबिआई बैंक र माछापुच्छ्रे बैंकको आधार भने बढेका बैंकहरूको अपरिष्कृत वित्तीय विवरणले देखाउँछ ।राष्ट्र बैंकले बैंकहरूले निक्षेपमा लिने ब्याजदर र कर्जा दिने औसत ब्याजदरको अन्तर घटाउँदै लगेको छ । यो अन्तर ४.४ प्रतिशत रहेकोमा चैतमा ४.२ प्रतिशत र आगामी असार मसान्तमा ४ प्रतिशत कायम गर्नुपर्ने भएको हो ।

कुनै व्यक्ति वा फर्मलाई प्रदान गरिने कर्जा तथा सापटको ब्याजदर निर्धारण गर्दा आधारदरमा थप गरिने प्रिमियम दर स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ ।यसले पनि कर्जाको ब्याजदर आधारदरले निर्देशित गर्ने स्पष्ट हुन्छ । कर्जाको ब्याजदर घटबढ हुने भए पनि आधारदरमा बैंकहरूले लिने प्रिमियम भने बैंकहरूले आफैँ बढाउन सक्दैन । तर, कर्जाको ब्याजदर घटाउन, प्रिमियम घटाउन भने सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । आधारदर बढ्यो भने आफैँ कर्जाको ब्याजदर बढ्ने र घट्दा घट्ने गरी ब्याजदर निर्धारण हुने गर्छ ।

बैंकहरूले आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जाको ब्याजदर तय गर्दै आएका छन् । बैंकहरूको ०७९ चैत मसान्तको विवरणअनुसार सबैभन्दा कम आधारदर राष्ट्रिय वाणिज्य बैंकको छ । बैंकको आधारदर चैत मसान्तमा ८.६ प्रतिशत रहँदा स्ट्यान्डर्ड चार्टर्ड बैंकको ९.२७ प्रतिशत रहेको छ । यस्तै, एकल अंकमा आधारदर रहेका बैंकमा नेपाल बैंक, एभरेष्ट बैंक र नबिल बैंक छन् । नेपाल बैंकको आधारदर ९.९२ प्रतिशत, एभरेष्टको ९.९४ प्रतिशत र नबिल बैंकको ९.९९ प्रतिशत छ ।

यस्तै, चैतमा सबैभन्दा धेरै आधारदर भएको सन्राइजको ११.३४ प्रतिशत छ । माछापुच्छ्रे बैंकको आधारदर ११.३१ प्रतिशत र सिटिजन्स बैंकको ११.१४ प्रतिशत छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*