बैंक तथा वित्तिय संस्थाको अवस्था सुदृढ हुँदै गईरहेको छः गर्भनर अधिकारी

काठमाडौं ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकले ब्याजदर घटाउन थालेकाले अर्थतन्त्र चलायमान हुँदै जाने बताएका छन्। उनले चालु आर्थिक वर्ष आर्थिक स्थायित्व कायम गर्न चुनौतीपुर्ण अवस्था आएको बताए। अहिले बैंकहरुको अवस्था सुदृढ रहेको उनले बताए।
केन्द्रीय बैंकको ६८औं वार्षिकोत्सवको समारोहमा गभर्नर अधिकारीले बैंकको उद्देश्य प्राप्तिका लागि आ–आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका बैंकका संचालक समितिका पदाधिकारी तथा सम्पूर्ण कर्मचारीलाई धन्यवाद ज्ञापन गर्दै केन्द्रीय बैंकले वित्तीय क्षेत्रको विकासमा अग्रणी भूमिका निर्वाह गरेको बताएका हुन् ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रको विकासका साथै देशको समग्र आर्थिक विकासमा अग्रणी भूमिका खेलेको बताएका छन् ।
कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले बाह्य क्षेत्रमा सिर्जित दबाबहरुलाई सम्बोधन गर्न केन्द्रीय बैंकबाट नितिगत प्रयासहरु भएको बताए । साथै यस वर्ष भुक्तानी प्रणालीको सुदृढिकरण र वित्तीय स्थायीत्व कायम गर्नका लागि पनि केन्द्रीय बैंक सक्रिय रहनुपरेको उनले बताए । साथै यस वर्ष बैंकको कार्यसम्पादनलाई चुस्त, व्यवस्थित, नियमसंगत र अद्यावधिक बनाउन विभिन्न कार्यविधि तर्जुमा र परिमार्जन गरिएको बताए ।
कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले गत वर्ष शोधानान्तर घाटा उल्लेख्य मात्रामा बढेर विदेशी विनिमय संचिति तीव्र रुपमा घट्न गएको बताए । उनले भने, ‘विदेशी विनिमय संचितिमा आएको कमीसँगै बैकिङ्ग प्रणालीमा तरलता कम भई ब्याजदर बढ्न गयो ।’ उनले भने, ‘बाह्य क्षेत्रमा देखा परेका उच्च ब्यवहारलाई कम गर्न नेपाल सरकारले १० वटा विलासीता वस्तुहरुको आयातमा प्रतिबन्ध समेत लगायो ।’
नेपाल सरकार र नेपाल राष्ट्र बैंकले लिएको नीतिगत व्यवस्था र प्रयासले गर्दा १४ महिनापछि २०७९ असोज महिनादेखि शोधानान्तर स्थिति बचतमा हुन पुगेको उनले बताए । साथै शोधनान्तर स्थिति बचतमा भएदेखि विदेशी विनियम संचितिमा समेत सुधार हुन थालेको गभर्नर अधिकारीले बताए ।











