विद्युत बिक्री आम्दानी घटेपछि नेशनल हाइड्रोपावर २ करोड नोक्सानमा, इपीएस कति ?

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड २९ लाख ४ हजार रुपैयाँ नोक्सानमा रहेको छ ।
कम्पनीले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिसम्म कम्पनी नोक्सानमा रहेको देखिएको हो । गत आवको तेस्रो त्रैमासमा भने कम्पनीले ३ करोड २७ लाख २२ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १९.४१ प्रतिशतले घटेर २ करोड ९१ लाख ४१ हजार रुपैयाँ कायम भएको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीको यस्तो आम्दानी ३ करोड ६१ लाख ६० हजार रुपैयाँ रहेको थियो । विद्युत बेचेर कमाउने आम्दानी नै घटेपनि कम्पनीले नोक्सानी बहोर्न पुगेको हो ।
कम्पनीको अन्य आम्दनीमा पनि भारी गिरावट देखिएको छ । गत आवको चैत मसान्तसम्ममा ४ करोड ३७ लाख ९० हजार रुपैयाँ बढी रहेको कम्पनीको अन्य आम्दानी यस वर्षको समिक्षा अवधिमा भने घटेर ३ लाख ४५ हजार कायम भएको छ ।
कम्पनीको वित्तीय खर्च पनि वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासमा ५० लाख रुपैयाँ मात्रे वित्तीय खर्च गरेको कम्पनीले यसवर्षको समिक्षा अवधिमा भने १ करोड १२ लाख ९१ हजार रुपैयाँ पुगेको छ । यस्ता कारण पनि खुद नाफा प्रभावित भएको हो ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड ५० लाख १६ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ८३ लाख रुपैयाँ मात्रै राखेको छ । तर, गत आवको समिक्षा अवधिमा कम्पनीको जगेडा कोषमा ३ करोड ४४ लाख बढी रहेको थियो ।
कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ५९ रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ एक रुपैयाँ ४१ पैसा रहेको छ ।












