माग सम्बोधन नभएपछि लघुवित्त विरुद्धको संघर्ष समितिका अध्यक्ष ज्ञवाली आमरण अनसनमा

काठमाडौं । लघुवित्त वित्तीय विरुद्धको संघर्ष समितिले आज (वैशाख १७) गतेदेखि आमरण अनसनमा बस्ने निर्णय गरेको छ । समितिले आफुहरुको माग नेपाल सरकारले सम्बोधन नगरेको भन्दै अनसनमा बस्ने जनाएको हो ।
विगत १५ महिनादेखि निरन्तर रुपमा लघुवित्तहरुले गरिब र विपन्न वर्गको नाममा कम्पनी ऐनमा दर्ता र नेपाल राष्ट्र बैंकको (घ) वर्गको ट्याग लगाएर साथै राष्ट्र बैंकको निर्देशिकालाई वासकमा च्यापेर गरिएको आर्थिक र सामाजिक शोषणको विरुद्धमा भइरहेको सामाजिक न्यायको आन्दोलनले उठाएको पाँचबुँदे माग सम्बोधन नहुँदा आमरण अनसन बस्ने समितिका अध्यक्ष मनिराम ज्ञवालीलले बताए ।
साथै समितिका अनुसार फागुन ३० गते काठमाडौंको माइतीघर मण्डलाबाट दश हजार लघुवित्त पीडितहरुको उपस्थितिमा नेपाल सरकारलाई वैकल्पिक व्यवस्थासहित र २०७९ चैत २ गते नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई बुझाएको माग पत्रमा समेत उल्लेख गरी पेश गरिएकोमा माग प्रति सरकार र राजनीतिक दलहरुबाट बेवास्ता भइरहेकोमा वैशाख १७ गतेदेखि आमरण अनसन बस्ने निर्णय भएको हो ।
लघुवित्त विरुद्धको संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवाली र ६ किसान संजालका प्रतिनिधि अगस्त अधिकारी सहितको टोली आमरण अनसनमा बस्ने भएको हो ।
समितिले यसअघि नवसामन्तीको रुपमा स्थापित लघुवित्त वित्तीइ संस्थाहरु खारेज गर, लघुवित्त संस्थाहरुद्धारा लगाइएको सामुहिक ऋण मिनाहा गर, आम गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गर, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर र समाजवादी अर्थतन्त्रको विकास गर गरी पाँचवटा माग राखेका थिए ।












