घोराही सिमेन्टको आईपिओ स्थानीयबासीकै लागी ४०० रुपैयाँ, भोलिदेखि बिक्री सुरु

काठमाडौं । घोराही सिमेन्टले मंगलबारदेखि पहिलो चरणको आइपीओ निष्कासन सुरु गरेको छ । कम्पनीले भोलिदेखि स्थानीयबासीको लागि प्रिमियम मूल्यमा आईपिओ बिक्री गर्न आवेदन खुल्ला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्य पर्ने आईपिओमा ३०० रुपैयाँ प्रिमियम थप गरी कूल ४०० रुपैयाँमा एक कित्ता आउने गरी आईपिओ जारी गरेको हो ।
हाल कम्पनीको जारी पुँजी ३ अर्ब ९७ करोड १९ लाख रुपैयाँ रहेको छ । कम्पनीले यसको कुल २० प्रतिशतले हुन आउने ७९ करोड ४३ लाख ८० हजार १०० बराबरको ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर प्रिमियम मूल्यमा आईपिओ जारी गर्न लागेको हो ।
उक्त सेयरमध्ये ५ प्रतिशतले हुन आउने ३ करोड ९७ लाख १९ हजार बराबरको ३ लाख ९७ हजार १९० कित्ता सेयर उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याएको । सो कार्य सम्पन्न भएपछि कर्मचारी र सामूहिक लगानी कोष, बैदेशिक रोजगारीमा गएकाहरुलाई छुट्याएर बाँकी रहेको शेयरमा सर्वसाधारणको लागि जारी हुनेछ ।
कम्पनीले प्रभावित क्षेत्रमा दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १,२,३, ४, १४, १५, १७, १८, १९, दाङ जिल्लाको बंगलाचुली गा.पा. ३, ४ र रोल्पाको त्रिवेणी गाउँपालिका ३ र ४ लाई आवेदन आह्वान गरेको छ । सो सेयर खरिदका लागि उद्योग प्रभावित क्षेत्रका स्थानीयले अंकित मूल्य १०० रुपैयाँमा ३०० रुपैयाँ थप गरी प्रतिकित्ता ४०० रुपैयाँका दरले आवेदन दिन सक्नेछन् ।
उक्त सेयरमा बैशाख १९ गतेदेखि जेठ २ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । उक्त समय सम्म पर्याप्त आवेदन नपरे उद्योग प्रभावित क्षेत्रका स्थानीयको हकमा भने जेठ २ गतेसम्म आवेदन अवधि थप हुने कम्पनीले जनाएको छ ।











