अर्थमन्त्री र लगानीकर्ताबीच भेटवार्ता, के–के भयो कुराकानी ?

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र शेयर लगानीकर्ताहरुबीच भेटवार्ता भएको छ । नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजी बजार लगानीकर्ता संघका प्रतिनिधिहरुको टोलीले सोमबार अर्थमन्त्रीलाई भेट गरेका हुन ।
अर्थमन्त्रीसँगको भेटमा मौद्रिक नीतिको तेस्रो समीक्षा मार्फत शेयर बजारलाई सहजिकरण गराउन आग्रह गरेका छन् । पूँजी बजारका लगानीकर्ताहरुले अर्थमन्त्रीसँगको भेटमा पुँजी बजार सुधारका लागि विभिन्न ६ बुँदे माग राखेका छन् ।
लगानीकर्ताहरुले खुला रुपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ती कार्यान्वयन गर्न आग्रह गरेका छन् । शेयर बजारका लगानीकर्ताको भेटमा अर्थमन्त्रीले बजारलाई अप्ठेरो पार्ने खालका नीतिहरू परिमार्जन गर्नका लागि राष्ट्र बैंकसँग छलफल भएको मन्त्रीले बताएका हुन ।
नेपाल राष्ट्र बैंकले धितो कर्जामा कायम रहेको १२ करोड रुपैयाँको सीमा खारेज गर्नुपर्ने र १५० प्रतिशत पुर्याइएको जोखिम भारित औसतलाई पुनः १०० प्रतिशतमा नै कायम गर्नुपर्ने माग छ ।
अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ३ प्रतिशत मात्र पुँजीगत लाभकरको व्यवस्था गर्नुपर्ने लगानीकर्ताहरुको जोड दिएका छन् । बैंक ब्याजदरलाई पुनरावलोकन गरी एकल अंकमा कायम गरिदिन र तरलता समस्याको समाधान गर्ने व्यवस्था मिलाउन लगानीकर्ताहरुको आग्रह छ ।
बजारमा देखिएको समस्या तत्काल समाधान गर्नको लागि अर्थमन्त्री सकारात्मक रहेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए ।












