राष्ट्र उत्थान लघुवित्तको सेयर कारोबार फुकुवा, आईतबारदेखि शेयर खरिदबिक्रि गर्न मिल्ने

काठमाडौं । नेप्सेले राष्ट्र उत्थान लघुवित्तको सेयर कारोबार फुकुवा गरेको छ। नेप्सेले यस्तो गल्ती आगामी दिनमा नदोहराउन सचेत गराउदै सेयर कारोबार फुकुवा गरेको हो । आइतबारबाट लघुवित्तको सेयर कारोबार गर्न सकिनेछ।
लघुवित्त सञ्चालक समितिको वैशाख १३ गते बसेको बैठकले लाभांश वितरण सम्बन्धी गरेको निणर्य १९ गते विहान ११ः४८ बजे मात्रै जानकारी गराएको भन्दै नेप्सेले सेयर कारोबार रोक्का गरेको थियो ।
धितोपत्र सूचीकरण विनियमावली २०७५ भएको व्यवस्था अनुसार कम्पनीको सेयर मूल्य प्रभावित हुनेगरी सूचना सार्वजनिक गरेको भन्दै नेप्सेले ३ कार्यदिनभित्र यस विषयमा स्पष्टीकरण माग गदै लघुवित्तको सेयर कारोबार रोक्का गरेको थियो ।
राष्ट्र उत्थान लघुवित्तले सूचना प्रवाहसम्बन्धी गलत बुझाइका कारण समयमै लाभांश प्रस्तावसम्बन्धी सूचना जानकारी गराउन नसकेको भन्दै क्षमयाचना गरेपछि सचेत गराउँदै सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ।
कम्पनी सञ्चालक समितिको वैशाख १३ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । प्रास्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सम्बन्धीत सेयरधनीहरुले पाउनेछन् ।













