प्रिमियममा आइपीओ निष्काशन गर्न लागेको घोराही सिमेन्टको प्रतिशेयर आम्दानी सबैभन्दा थोरै

काठमाडौं । घोराही सिमेन्टले आफनो वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार अधिंकाश वित्तिय सूचक सन्तोषजनक देखिएको छैन । घोराही सिमेन्टको प्रति शेयर आम्दानी भने ५० पैसा मात्रै छ । कम्पनीले पुस मसान्तसम्ममा कम्पनीले आफ्नो उत्पादन बिक्रीबाट १ अर्ब ८३ करोड २४ लाख ३३ हजार आम्दानी गरेर कुल ४८ करोड ८९ लाख ८८ हजार रुपैयाँ नाफा गरेको छ।
कम्पनीले आव २०७७।७८ मा ५ अर्ब ९ करोड रुपैयाँको सिमेन्ट र क्लिंकर बिक्री गरेकोमा गत वर्ष यो घटेर ४ अर्ब ८० करोड रुपैयाँमा सिमित भएको छ । चालु वर्षको आधा भन्दा बढी समय बितिसक्दा पनि कम्पनीले अघिल्लो वर्षको आधा पनि बिक्री गर्न नसक्नुले कम्पनीको व्यवसाय विस्तारै घट्दै गएको संकेत गर्दछ । चालु आवमा निर्माण क्षेत्रको वृद्धि दर नै २।६२ प्रतिशतले ऋणात्मक हुने राष्ट्रिय तथ्यांक कार्यालयको प्रक्षेपणले चालु आवको बाँकी समय पनि सिमेन्ट उद्योगको लागि सन्तोषजनक भने देखिएको छैन ।
बजारमा सिमेन्टको मागमै कमी आएर सिमेन्टको बिक्री गत वर्ष भन्दा घट्दै गए पनि कम्पनीले चालु आवको असारमसान्तसम्म प्रति शेयर आम्दानी ११ रुपैयाँ ६५ पैसा पुर्याउने प्रक्षेपण गरेको छ । कम्पनीको निष्काशनपछि चुक्ता पुँजी ७९ करोड ४४ लाख रुपैयाँ वृद्धि भएर ३ अर्ब ९७ करोड १९ लाख रुपैयाँ पुग्नेछ । आइपीओ निष्काशन नहुँदै ५० पैसा मात्रै प्रति शेयर आम्दानी देखाएको कम्पनीलाई प्रक्षेपित प्रति शेयर आम्दानी पुर्याउन भने मुश्किल नै देखिएको निर्माण क्षेत्रका जानकारहरु बताउँछन् ।
आगामी आर्थिक वर्ष निर्माण क्षेत्र चलायमान भएर सिमेन्ट मागमा वृद्धि भएमा भने घोराही सिमेन्टको पनि माग वृद्धि भएर प्रक्षेपित प्रति शेयर आम्दानी कायम हुन सक्नेमा भने शंका गर्न सकिन्न । कम्पनीले आव ०८०।८१ मा १६ रुपैयाँ ३३ पैसा र आव ०८१।८२ मा २४ रुपैयाँ ५८ पैसा प्रति शेयर आम्दानी पुग्ने प्रक्षेपण गरेको छ । कम्पनीको १७ लाख ९७ हजार मेट्रिक टन क्लिंकर र १० लाख ४० हजार मेट्रिकटन सिमेन्ट उत्पादन क्षमता भए पनि आव २०७९।८० मा क्लिकरको ५४ प्रतिशत र सिमेन्टको ७२ प्रतिशत मात्रै क्षमता उपभोग हुने कम्पनीको विश्लेषण छ । कम्पनीले आव २०८०।८१ मा ६४ प्रतिशत र आव २०८१।८२ मा ७० प्रतिशत क्लिंकर क्षमताको उपभोग गर्नेछ भने सिमेन्टमा आव २०८०।८१ मा ७९ प्रतिशत र २०८१।७२ मा ८७ प्रतिशत क्षमता उपभोग गर्ने कम्पनीको प्रक्षेपण छ ।
कम्पनीले निष्काशन गरेको सबै आइपीओको शेयर बिक्री भएमा प्रिमियम रकमबापत् स्थानीय उद्योग प्रभावित बासिन्दाबाट मात्रै १ अर्ब १९ करोड १५ लाख ७ हजार रुपैयाँ र सर्वसाधारण र वैदेशिक रोजगारमा गएका कामदारबाट २ अर्ब ५२ करोड ७१ लाख १४ हजार ६ सय ८५ रुपैयाँ गरी कुल ३ अर्ब ७१ करोड ८६ लाख २१ हजार ६ सय ८५ रुपैयाँ रकम प्रिमियमबापत् संकलन गर्ने देखिन्छ ।
प्रिमियमबाट संकलित रकम कम्पनीले बैंकबाट लिइएको ३ अर्ब ४१ करोड ७९ लाख ७९ हजार रुपैयाँ कर्जा चुक्ता गर्न खर्च गरिने घोराही सिमेन्टको विवरणमा पत्रमा उल्लेख छ । कम्पनी ऐनमा प्रिमियममा आइपीओ निष्काशन गर्दा भएको खर्च बाहेक सो रकम बोनस शेयर नै दिएर सकाउनु पर्ने उल्लेख छ ।












