राष्ट्र बैंकका गभर्नर अधिकारी सार्क फाइनान्स गभर्नस मिटिङमा सहभागी, मुलुकको आगामी आर्थिक परिदृश्यबारे चर्चा

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी इस्लामबादमा आयोजित ४३औं ‘सार्क फाइनान्स गभर्नस मिटिङ एण्ड सिम्पोजियम’ मा सहभागी भएका छन् । वैशाख १९ गतदेखि २० गतेसम्म भएको उक्त मिटिङमा केन्द्रीय बैंकका गभर्नर अधिकारीले भाग लिएका हुन् ।
कार्यक्रमको पहिलो दिन आयोजित उक्त कार्यक्रममा गभर्नर अधिकारीले विश्व अर्थव्यवस्थामा उत्पन्न असहजताले निम्त्याएको चुनौतीका बाबजुद नेपाल समग्र आर्थिक स्थायित्व कायम गर्न सफल भएको उल्लेख गर्दै मुलुकको आगामी आर्थिक परिदृश्यबारे चर्चा गरे । सो अवसरमा गभर्नर अधिकारीले नेपालको वित्तीय क्षेत्र सबल रहेको र पछिल्लो समयमा तरलता तथा ब्याजदरमा देखिएको असहजता विस्तारै कम हुँदै गएको बताए ।
उक्त बैठकमा माल्दीभ्स, पाकिस्तान र श्रीलङ्गाका केन्द्रीय बैंकका गभर्नरहरूले कोभिड सङ्कटका साथै रुस–युक्रेन युद्धबाट सिर्जित भू– राजनीतिक तनावका कारण मूल्य र बाह्य क्षेत्रमा देखिएको चुनौती तथा त्यसको समाधानका लागि अवलम्वन गरिएका उपाय र आगामी आर्थिक परिदृश्यका सन्दर्भमा चर्चा गरेका थिए ।
बैठकमा सार्क क्षेत्रका केन्द्रीय बैंकहरूको सहकार्यमा भइरहेको प्रगति तथा आगामी दिनमा हुनुपर्ने सहकार्य लगायतका एजेण्डामा छलफल भएको थियो । दोस्रो सत्रमा बैंकका उपनिर्देशक सिद्धराज भट्टले नेपाल राष्ट्र बैंकको नेतृत्वमा सम्पन्न ‘प्रस्पेक्ट्स अफ सेन्ट्रल बैंक डिजिटल करेन्सी इन दि सार्क रिजन्स’ विषयक अध्ययनको नतिजा प्रस्तुत गरे । सो अवसरमा स्टेट बैंक अफ पाकिस्तानका निर्देशक डा. फारोक अर्बिले उक्त बैंकको नेतृत्वमा सम्पन्न दि युज अफ अनकन्भेन्सनल पोलिसी इन्ट्रुमेन्ट बाइ साउथ एशियन सेन्ट्रल बैंक्स’ विषयक अध्ययनको नतिजा प्रस्तुत गरेका थिए ।
कार्यक्रमको दोस्रो दिन आयोजना गरिएको ‘क्लाइमेट चेञ्ज एण्ड ग्रिन फाइनान्सिङ इनिसियटिभ्स एण्ड आउटलुक इन साउथ एशिया’ विषयक सिम्पोजियममा बैंकका निर्देशक नारायणप्रसाद पोखेलले क्लाइमेट चेञ्ज एण्ड ग्रिन फाइनान्सिङ इन नेपाल’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
उक्त बैठकमा अन्य सार्क मुलुकका प्रतिनिधिले समेत आ– आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । बैठकमा सहभागी भई गभर्नर अधिकारी वैशाख २१ गते स्वदेश फर्किएका थिए ।











