सिवाइसी नेपाल लघुवित्तको खराब कर्जा अनुपात ९ प्रतिशतमाथि, मुनाफा ह्वात्तै घट्यो

काठमाडौं । सिवाइसी नेपाल लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार लघुवित्तको नाफा गत आवको तुलनामा घट्न पुगेको छ ।
यस अवधिसम्म संस्थाले ३३ लाख ३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो नाफा गत आवको यसै अवधिसम्मको तुलनामा ९२.२८ प्रतिशतले कम हो । गत आवको यसै अवधिसम्म संस्थाले ४ करोड २८ लाख २१ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी बढेपनि संचालन मुनाफा घटेका कारण संस्थाको नाफा प्रभावित बन्न पुगेको हो । यस अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ११ प्रतिशतले बढेर १७ करोड ५७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ९०.३२ प्रतिशतले घटेर ८७ लाख ७ हजार रुपैयाँमा सीमित हुन पुगेको छ ।
यता संस्थाको संचालन नाफा घटेसँगै इम्पेयरमेन्ट चार्ज बढेर ५ करोड ८१ हजार रुपैयाँ पुगेको हुँदा संस्थाको नाफा घट्न पुगेको हो । साथै गत वर्षको यसै अवधिसम्म १.९७ प्रतिशतमा कायम रहेको खराब कर्जा अनु्पात (एनपिएल) बढेर ९.८४ प्रतिशत पुगेको छ । यसले गर्दा पनि संस्थाले खुद ब्याज आम्दानी उठाउन नसकेका कारण नाफा घट्न पुगेको हो । यो एनपीएल केन्द्रीय बैंकले तोकेको सीमा भन्दा बढी हो ।
समिक्षा अवधिसम्म संस्थाको चुक्तापुँजी २६ करोड ६४ लाख रुपैयाँ रहेकोमा जगेडा कोषमा २४ करोड ६७ लाख रुपैयाँ संचित रहेको छ । यस अवधिसम्म लघुवित्तले २ अर्ब ४५ करोड रुपैयाँ सापटी लिई ५ अर्ब २२ करोड ३९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ भने २ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।
साथै संस्थाको वार्षिकी प्रतिशेयर आम्दानी ३ रुपैयाँ ८५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ ०३ पैसा रहेको छ ।












