अभियान लघुवित्त एक करोड २१ लाख रुपैयाँ नोक्सानमा, इपीएस समेत ऋणात्मक

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नोक्सानमा रहेको छ । संस्थाले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संस्था १ करोड २१ लाख रुपैयाँ नोक्सानमा रहेको हो ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानी घटेसँगै लघुवित्तको खुद नाफा ऋणात्मक हुन पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १८.२६ प्रतिशत घटेको छ भने अन्य सञ्चालन आम्दानी २०.०४ प्रतिशत घटेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १८.९९ प्रतिशत घटेको छ । लघुवित्तको निष्क्रिय कर्जा ०.४५ प्रतिशतबाट बढेर ४.६१ प्रतिशत पुगेसँगै सम्भावित जोखिम बापत ९ करोड २१ लाख रुपैयाँ व्यवस्था गरेसँगै सञ्चालन मुनाफा १२ करोड ४२ लाख रुपैयाँ ऋणात्मक हुन पुगेको छ ।
लघुवित्तले सो अवधिसम्ममा ९ करोड ४५ लाख रुपैयाँ खराब कर्जा उठाएका कारण खुद नाफा १ करोड २१ लाख रुपैयाँ ऋणात्मक हुन पुगेको हो ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस ६ रुपैयाँ ५० पैसा ऋणात्मक हुन पुगेको हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो आम्दानी ८ रुपैयाँ ९२ पैसा रहेको थियो । २५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २ करोड १९ लाख रुपैयाँ सञ्चित छ । चैत मसान्तसम्ममा लघुवित्तले १ अर्ब ४९ करोड रुपैयाँ सापटी र २६ करोड ३३ लाख रुपैयाँ निक्षेपबाट १ अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।











