साहज उर्जाको यस्तो देखियो तेस्रो त्रैमासिक वित्तीय अवस्था

काठमाडौं । साहस ऊर्जा लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २६ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार यस अवधिसम्म कम्पनीको नाफा गत वर्षको तुलनामा घट्न पुगेको हो ।
गत वर्षको यही अवधिमा पनि कम्पनीले ५८ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो हिसाबले कम्पनीको नाफामा ५४.३९ प्रतिशतको गिरावट आएको छ ।
कम्पनीले २०७९ चैत १७ गतेबाट व्यावसायिक उत्पादन सुरु थालेको हो । उत्पादिन विद्युत बिक्रीको बिल नेपाल विद्युत प्राधिकरणमा पेस गरेको तथा बिलबमोजिम रकम भुक्तानीको क्रममा रहेको कम्पनीले जनाएको छ। सोही कारणले पनि कम्पनीको नाफा प्रभावित भएको देखिन्छ।
यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट २१ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष कम्पनीले विद्युत उत्पादन गरी बिक्री थालेको थिएन । चुक्तापुँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार १९.१२ प्रतिशतले २ अर्ब ३६ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ९८ करोड रुपैयाँ थियो ।
समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १०.१० रुपैयाँ रहेको छ। पीई रेसियो ५१.२९ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १६७.६९ रुपैयाँ रहेको छ।












