दोस्रो बजारमा उच्च शेयरमूल्य रहेका टप ५ लघुवित्तलाई दाजेर हेर्दा, कुन सूचकका कुन अब्बल ?

८ जेष्ठ २०८०, सोमबार १३:२२

काठमाडौं । धितोपत्र दोस्रो बजारमा ५ वटा लघुवित्त संस्था शेयर लगानीकर्ताहरुको रोजाइमा पर्ने गर्दछ । संचालनमा रहेका अधिकतम लघुवित्त संस्थाहरु नेप्सेमा सूचीकृत छन् । जसमध्ये पनि शेयरबजारमा पाँच लुघवित्त संस्थाप्रति आम लगानीकर्ताहरुको बढी आकर्षण देखिने गर्दछ । जसकारण उक्त लघुवित्त संस्थाहरुको शेयरमूल्य अन्य संस्थाको तुलनामा उच्च रहन पुगेको छ ।

शेयरबजारमा बढी चर्चामा रहने नेष्डो समृद्ध लघुवित्त, जीवन विकास लघुवित्त, महिला लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त र सिवाइसी नेपाल लघुवित्तको शेयरमूल्य अन्य लघुवित्त संस्थाहरुको तुलनामा बढी छ । यी संस्थाहरुले आ–आफ्ना शेयरधनीहरुलाई उच्च लाभांश प्रस्ताव गरेका कारण पनि लगानीकर्ताहरुको ध्यान केन्द्रीत गरिरहेका हुन्छन् ।

चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमासिक वित्तीय विवरणका आधारमा यी पाँच लघुवित्त कुन सूचकमा कुन संस्था अब्बल देखिएको छ, भन्ने विस्तृत विवरण बीमापोष्टले तयार पारेको छ । कम्पनीहरुको शेयरमूल्य घटबढ हुन कम्पनीको केही सूचकहरुले माइनर राख्ने गर्दछ । तर लगानीकर्ताहरुले पूर्ण रुपमा कम्पनीको वित्तीय विवरणमा अढिक भई शेयर लगानी गर्नु जोखिम हुन सक्ने सम्भावना बढी हुन जान्छ । तर केही हदसम्म कम्पनीहरुको सहि विश्लेषण तथा अध्ययन गरी उक्त कम्पनीमा लगानी गर्दा जोखिम कम हुन सक्ने सम्भावना रहन्छ ।

यसैको आधारमा नेष्डो, जीवन विकास, महिला, जाल्पा सामुदायिक र सिवाइसी नेपालको वित्तीय सूचकाङ्कको आधारमा कुन कम्पनीको शेयर किन्दा बढी जोखिम र कुनको किन्दा जोखिम कम हुन सक्छ भन्ने विश्लेषण तयार पारिएको छ । तर लगानीकर्ताहरुले यसैको आधारमा शेयरमा लगानी गर्नुभन्दा पनि अझै विस्तृत रुपमा विश्लेषण गर्दा उपयुक्त हुनेछ ।

प्रतिशेयर (इपीएस)को आधारमा
पाँच लघुवित्त संस्थामध्ये इपीएसमा तेस्रो त्रैमाससम्म सबैभन्दा बढी अब्बल नेष्डो समृद्ध लघुवित्त देखिएको छ । नेष्डोको इपीएस नै ७६.८० रुपैयाँ रहेको छ भने जीवनको र महिलाको ४० रुपैयाँभन्दा कम रहेको छ । त्यस्तै, यता जाल्पाको इपीएस ३२.७० रुपैयाँ ऋणात्मक अवस्थामा रहँदा सिवाइसीको जम्मा ३.८५ रुपैयाँ रहेको छ ।

इपीएसले कम्पनीको शेयरमूल्यमा प्रभाव पार्न सक्दछ । करपछिको नाफालाई कुल शेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई प्रतिशेयर आम्दानी भनिन्छ । कम्पनीले आर्जन गरेको खुद नाफालाई कम्पनीको कुल शेयर संख्याले भाग गर्दा प्रतिशेयर आम्दानी प्राप्त हुन जान्छ । इपीएस शेयरको मूल्य मूल्यांकन मापन गर्ने महत्वपूर्ण आधारको रुपमा पनि मानिन्छ । इपीएस उच्च भएकोलाई असल मानिन्छ भने कम भएकोलाई कमसल । लगानीकर्ताहरुले कम्पनीले आर्जन गरेको मुनाफा भन्दा पनि इपीएस हेरेर लगानी गर्नु बढी लाभदायक हुन सक्छ ।

प्रतिशेयर नेटवर्थको आधारमा
कम्पनीको चुक्तापुँजी र सम्पूर्ण जगेडाहरुको जोड नै कम्पनीको प्रतिशेयर नटेवर्थ (खुद मूल्य अथवा कितावी मूल्य) हो । कुल नेटवर्थ कम्पनीको कुल शेयर संख्याले भाग गरेमा कम्पनीको प्रतिशेयर नेटवर्थ मूल्य प्राप्त हुन जान्छ । शेयरबजारमा शेयर कारोबार गर्दा कम्पनीको प्रतिशेयर नेटवर्थ र बजार मूल्यबीच तुलना गरेर कारोबार गर्नु राम्रो मानिन्छ । यसैको आधारमा सबैभन्दा बढी नेटवर्थ हुने कम्पनीमा नेष्डो समृद्ध लघुवित्त रहेको छ ।

नेष्डोको नेटवर्थ ३८६ रुपैयाँ ६१ पैसा रहेको छ । त्यस्तै दोस्रोमा जाल्पा सामुदायिकको ३०१ रुपैयाँ ५ पैसा रहेको छ । साथै तेस्रोमा जीवन विकासको २६१.४५ रुपैयाँ, सिवाइसी नेपालको २१६ रुपैयाँ ३ पैसा र महिला लघुवित्तको २०३ रुपैयाँ २४ पैसा रहेको छ ।

शेयरमूल्यको आधारमा
हालको शेयरमूल्यको आधारमा सबैभन्दा बढी अब्बल नेष्डो समृद्ध लघुवित्त रहेको छ । नेष्डोको शेयरमूल्य २०६४ रुपैयाँ रहेको छ भने गत त्रैमाससम्म कम्पनीको अधिकतम मूल्य ३५ सय रुपैयाँसम्म रहेको छ ।

त्यस्तै, दोस्रोमा महिला लघुवित्त रहेको छ । महिलाको हालको शेयरमूल्य १७७० रुपैयाँ रहेको छ भने संस्थाको गत त्रैमाससम्म अधिकतम शेयरमूल्य ४३२९ रुपैयाँ रहेको छ । साथै जाल्पा हालको शेयरमूल्य सामुदायिकको १५०५ रुपैयाँ र अधिकतम शेयरमूल्य ३५१० रुपैयाँ पुगेको छ । साथै जीवन विकासको हालको शेयरमूल्य १४११ रुपैयाँ र गत त्रैमाससम्म अधिकतम मूल्य २९९० रुपैया र सिवाइसी नेपालको हालको शेयरमूल्य १३४५ रुपैयाँ र अधिकतम शेयरमूल्य २०१० रुपैयाँ रहेको छ ।

खुद नाफाको आधारमा
चालु आवको तेस्रो त्रैमाससम्म सबैभन्दा बढी मुनाफा आर्जन गर्ने संस्थामा जीवन विकास लघुवित्त रहेको छ । जीवन विकासले सो अवधिसम्म ३२ करोडमाथि मुनाफा आर्जन गरेको छ । त्यस्तै, दोस्रोमा नेष्डो समृद्ध लघुवित्तले १४ करोड ६८ लाख, महिलाले ५ करोड २४ लाख र सिवाइसी नेपालले ७७ लाख रुपैयाँ नाफा कमाएको छ, भने जाल्पाको नाफा ३ करोड ९२ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

लघुवित्तहरुले आर्जन गरेको नाफा अनुसार आव सकिएपछि सो नाफाको आधारमा वितरणयोग्य नाफा छुट्याएका हुन्छन् । र सोही नाफाबाट संस्थाहरुले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने गर्दछन् ।

खुद ब्याज आम्दानीको आधारमा
खुद ब्याज आम्दानीको आधारमा सबैभन्दा बढी अब्बल जीवन विकास लघुवित्त देखिएको छ । जीवन विकासले सो अवधिसम्म एक अर्ब १९ करोड रुपैयाँ ब्याजबाट आम्दानी गरेको छ । त्यस्तै, नेष्डोले ४५ करोड ९६ लाख, जाल्पाले २३ करोड ८५ लाख, महिलाले २० करोड ५८ लाख र सिवाइसी नेपालले १७ करोड ५७ लाख रुपैयाँमाथि ब्याजबाट आम्दानी गरेको छ ।

कर्जा लगानीको आधारमा
चालु आवको तेस्रो त्रैमाससम्म सबैभन्दा बढी कर्जा लगानी गर्ने संस्थामा जीवन विकास लुघवित्त रहेको छ । जीवन विकासले सो अवधिसम्म २२ अर्ब ४५ करोड रुपैयाँमाथि कर्जा लगानी गरेको छ । साथै दोस्रोमा सिवाइसी नेपाल रहेको छ । सिवाइसीले ५ अर्ब २२ करोडमाथिको कर्जा प्रवाह गरेको छ । त्यस्तै, जाल्पा सामुदायिकले ४ अर्ब ५७ करोड, महिलाले ४ अर्ब ३० करोड र नेष्डो समृद्धले ४ अर्ब २९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रस्तावित लाभांश
गत आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट सबैभन्दा बढी लाभांश वितरण गर्नेमा महिला लघुवित्त रहेको छ । महिलाले आफ्ना शेयरधनीहरुलाई ५० प्रतिशत लाभांश वितरण गरेको छ । हुन त जाल्पा र नेष्डो समृद्ध लघुवित्तले पनि शेयरधनीहरुलाई ७० प्रतिशतभन्दा बढी लाभांश प्रस्ताव गरेको थियो ।

तर नेपाल राष्ट्र बैंकले यी दुबै संस्थाको लाभांश संशोधन गरी नेष्डोलाई १७.५३ प्रतिशत र जाल्पालाई १५ प्रतिशत लाभांश वितरण गर्न स्वीकृत प्रदान गरेको छ । त्यस्तै, यता सिवाइसी नेपालले पनि ३१.५८ प्रतिशत लाभांश वितरण गरेको छ भने जीवन विकासले १४.२८ प्रतिशत लाभांश वितरण गरेको छ ।

वितरणयोग्य मुनाफाको आधारमा
चालु आवको तेस्रो त्रैमाससम्म ५ लघुवित्त संस्थामध्ये तीन वटा संस्थाले मात्रै वितरणयोग्य मुनाफाको सूचक छुट्याएका छन् । जसमध्ये सबैभन्दा बढी जीवन विकास लघुवित्तले १९ करोड २३ लाख रुपैयाँ वितरणयोग्य मुनाफा छुट्याएको छ । त्यस्तै, महिला लघुवित्तले २ करोड ७६ लाख र सिवाइसी नेपालले जम्मा ६० लाख १२ हजार रुपैयाँमात्रै छुट्याएको छद्ध ।

खराब कर्जा
खराब कर्जा जति बढ्दै गयो उति नै संस्थाहरुको जोखिमाङ्कन बढ्दै जाने हुन्छ । कर्जा लगानी गरी ब्याज आम्दानीबाटै प्रोफिट गर्ने संस्थाहरुमा खराब कर्जा अनुपात बढ्दै जाँदा लघुवित्त संस्थाहरुको जोखिम त बढ्ने नै हुन्छ, यता शेयरधनीहरुले समेत उचित प्रतिफल नपाउने बढी सम्भावना रहन्छ । तेस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्त संस्थाहरुमा खराब कर्जा बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।

५ लघुवित्त संस्थामध्ये पनि सबैभन्दा बढी खराब कर्जा बढ्नेमा सिवाइसी नेपाल लघुवित्त रहेको छ । सिवाइसीको एनपीएल ९.८४ प्रतिशत रहेको छ भने यता महिलाको पनि ९.८० प्रतिशत रहेको छ । त्यस्तै, नेष्डो समृद्ध लघुवित्तको ८.५५ प्रतिशत, जाल्पा सामुदायिकको ७.४२ प्रतिशत र जीवन विकास लघुवित्तको ४.९१ प्रतिशत रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*