अप्पर स्याङ्गे हाईड्रोपावरले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन 

१९ जेष्ठ २०८०, शुक्रबार ०७:५९

अप्पर स्याङ्गे हाईड्रोपावरले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

कम्पनीले जारी पूँजी २२ करोड रुपैयाँको १० प्रतिशत अर्थात २ करोड २० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २ लाख २० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो। सो आईपीओमा लमजुङ्ग जिल्लाको मर्स्याङ्गदी गाउँपालिका ९साविकका घनपोखरा गाविस वडा नं १ र २, खुदी गाविस वडा नं ३, ताघ्रिङ्ग गाविस वडा नं ४, घेरमु गाविस वडा नं ५, बाहुन डाँडा गाविस वडा नं ६, भुलभुले गाविस वडा नं ७ र ८ तथा सिमपानी गाविस वडा नं ९० का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

 

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। स्थानिय बासिन्दाहरुले सो आईपीओमा अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले निर्माण गरीरहेको २।४ मेगावाटको माथिल्लो स्याङ्गे खोला साना जलविद्युत आयोजनाको कुल अनुमानित लागत ५० करोड ४८ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ३ लाख रुपैयाँ रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७।७४ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६।९१ वर्ष रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमति २९ वर्ष ७ महिना बाँकी रहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक, एनएमबि बैंक र हिमालयन बैंकका तोकिएका शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*