हकप्रद प्रस्तावसहित अरुण भ्यालीले डाक्यो विशेष साधारण सभा

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको बसेको बैठकले विशेष साधारणसभा आह्वान गरेको हो ।
कम्पनीको विशेष सभा असार ७ गते बस्नेछ । सो सभाले कम्पनीको चुक्तापुँजीको १ः१ अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने एजेन्डा अनुमोदन गर्नेछ ।
यसअघि कम्पनी सञ्चालक समितिको बसेको बैठकले चुक्तापुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। यसका लागि विद्युत नियमन आयोगमा पूवीस्वीकृतिका लागि कम्पनीले आवेदन दिएको थियो ।
विद्युत नियमन आयोगले यही जेठको पहिलो साता अरुण भ्याली हाइड्रोपावरलाई हकप्रद निष्कासनको एजेन्डा साधारणसभाबाट अनुमोदन गर्न पूर्वस्वीकृति प्रदान गरेको छ। विद्युत नियमन आयोगले पूर्वस्वीकृति प्रदान गरेसँगै कम्पनीले विशेष साधारणसभाको मिति टुंगो लगाएको हो ।
कम्पनीले हकप्रद सेयर बिक्रीबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ पिके हाइड्रोपावर प्रालिले विकास गर्दै गरेको लिखु खोला जलविद्युत आयोजना (३० मे.वा.)को निर्माणका लागि आवश्यक पर्ने स्वपुँजीका लागि पिके हाइड्रोपावरको संस्थापक सेयरमा लगानी गर्ने निर्णय गरेको छ ।
यसैगरी बाँकी रकम ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्नका लागि उपयोग गर्ने कम्पनीले निर्णय गरेको छ ।












