सरकारी राजश्वमा पुँजीबजारको योगदान कति ?

काठमाडौं । धितोपत्र दोस्रो बजारमार्फत नेपाल सरकारलाई उल्लेख्य रकम पुँजीगत लाभकर बापत प्राप्त हुने अवस्था सिर्जना भएको छ । सरकारले पुँजीगत लाभकर अन्तर्गत हाल ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर लिने गरेको छ ।
अल्पाकालिन लगानीकर्ताका लागि ५ प्रतिशत र दीर्घकालिन लगानीकर्ताका लागि ७.५ प्रतिशत पुँजीगत लाभकर लिने प्रावधान रहेको छ । पुँजीबजारमार्फत नेपाल सरकारलाई राजश्वमा योगदान पुगेको छ ।
पुँजीगत लाभकर सम्बन्धी अवस्थालाई नियाल्दा चालु आर्थिक वर्ष २०७९।८० को वैशाख मसान्तसम्म मात्रै २ अर्ब ३६ करोड ३३ लाख रुपैयाँ राजश्वमा योगदान पुगेको छ ।
साथै पुँजीगत लाभकर सम्बन्धी बिगत पाँच वर्षको अवस्थालाई नियाल्दा आव २०७२।७३ मा एक अर्ब ३९ करोड पुँजीगत लाभकर र आव २०७३।७४ मा एक अर्ब ४५ करोड पुँजीगत लाभकर सरकारलाई प्राप्त भएको देखिएको छ ।
साथै सोपश्चात् दुई आव २०७४।७५ र २०७५।७६ मा भने पुँजीगत लाभकर घटेको देखिएको छ । आव २०७४।७५ मा ४७ करोड रुपैयाँ र आव २०७५।७६ मा ६४ करोड रुपैयाँ मात्रै पुँजीगत लाभकर सरकारलाई प्राप्त भएको छ । त्यसैगरी आव २०७६।७७ मा ९८ करोड ४८ लाख राजश्वमा योगदान भएकोमा आव २०७७।७८ मा उल्लेखनीय बृद्धि भई १५ अर्ब ५३ करोड १६ लाख रुपैयाँ पुगेको छ ।
आव २०७७।७८ मा नेप्से इन्डेक्स बढेर ३२ सयको विन्दुमा पुगेको थियो । सोही आवमा शेयरबजारले नयाँ रेकर्ड राख्दै एकैदिन २२ अर्बको सम्म कारोबार भएको थियो । यसकारण पनि उक्त वर्षमा सर्वाधिक १५ अर्ब रुपैयाँसम्मको राजश्वमा योगदान पुगेको हो ।
त्यस्तै, आव २०७८।७९ मा ११ अर्ब ४० करोड ८५ लाख रुपैयाँ र चालु आव २०७९।८० को वैशाख मसान्तसम्म २ अर्ब ३६ करोड ३३ लाख रुपैयाँ राजश्वमा योगदान पुगेको छ ।












