नबिल र एसियन पेन्टस् बिच च्यानल फाइनान्सिङको सम्झौता

२९ जेष्ठ २०८०, सोमबार २१:३०

काठमाडौं । नबिल बैंक लिमिटेड र एसियन पेन्टस् नेपाल प्रा. लि बिच च्यानल फाइनान्सिङ सुविधाको लागि सहकार्य गरिएको छ । च्यानल फाइनान्सिङ सहकार्य सम्बन्धमा सोमबार दुई पक्षीय समझदारी गरिएको हो ।

नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एसियन पेन्टसका तर्फबाट कन्ट्री डाइरेक्टर गोपालकृष्णन जीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।कार्यक्रममा नबिलका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, नायव प्रमुख कार्यकारी अधिकृत बिनय रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र एसएमई, लघुवित्त तथा दिगो बैंकिङका प्रमुख निरज बस्नेत डनिल, एसियन पेन्टस्का प्रमुख बित अधिकृत समीर श्रेष्ठका साथै एसियन पेन्टस्का अन्य कार्यकारीहरूको पनि उपस्थिति थियो ।

यस सम्झौता अन्तर्गत एसियन पेन्टस् नेपालसँग आबद्ध व्यवसायीहरूले च्यानल फाइनान्सिङको रूपमा थप व्यवसाय विस्तार गर्न चालु पुँजीमा लगानी गर्ने उद्देश्यका  लागि आकर्षक ब्याजदर र न्यून धितो अनुपातमा नबिल बैंकका देशैभरि फैलिएका शाखा सञ्जालहरूबाट च्यानल फाइनान्सिङ् कर्जा उपभोग गर्न पाउने छन् ।

च्यानल फाइनान्सिङका प्रमुख आकर्षण अन्तर्गत आफ्ना वितरकहरूलाई सामान बिक्री गरेको बिल बराबरको पुरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुने बताइएको छ । बैंकले सम्बन्धित व्यवसायीहरूको लागि व्यवसाय विस्तार गर्न अन्य सेवा तथा एसएमई कर्जाहरू समेत सहुलियत दरमा उपलब्ध हुने बताइएको छ ।

च्यानल फाइनान्सिङका सन्दर्भमा एसियन पेन्टस् नेपालसँग सहकार्यका बारेमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंङ्गानाले बैंकसँग आबद्ध हुने एसियन पेन्टसका वितरकहरूले बैंकबाट विशिष्टीकृत सेवा पाउने विश्वास दिलाए । उनले व्यवसाय बिस्तारको लागि आवश्यक पुँजी बैंकमार्फत पाउने बताए ।

यो सुविधाले नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन अनुरुप नै सम्पूर्ण खरिद बिक्रीको भुक्तानी प्रक्रिया बैंक खाता मार्फत मात्रै हुने प्रमुख कार्यकारी अधिकृत ढुंगानाको भनाइ थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*