वाणिज्य बैंकहरुको प्रतिशेयर आम्दानी ३० रुपैयाँ मुनि, सबैभन्दा धेरै एनआईसी एशिया बैंकको, अन्यको कति ? (इन्फोग्राफ सहित)

काठमाडौं । वाणिज्य बैंकहरुमध्ये एनआइसी एसिया बैंकको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै देखिएको छ । वैशाखसम्म बैंकको इपीएस ३७ रुपैयाँ ९९ पैसा (वार्षिकीकरण नगरिएको) रहेको छ ।तेस्रो त्रैमासमा यसको उक्त आम्दानी ४६ रुपैयाँ ७६ पैसा (वार्षिकीकरण) रहेको थियो ।एनआइसी एसियाको नाफामा आएको वृद्धिका कारण प्रतिसेयर आम्दानी पनि बढेको हो ।
राष्ट्र बैंकले यसलाई लाभांश वितरणमा रोक लगाएको थियो । जसका कारण बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको हो ।विवरण अनुसार ५ वटा बैंकको मात्रै प्रतिसेयर आम्दानी २० रुपैयाँ भन्दा धेरै छ । दोस्रोमा, स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ५५ पैसा छ ।
चुक्ता पुँजी सबैभन्दा कम रहेको यस बैंकले वैशाख मसान्तसम्म २ अर्ब ७८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।अन्य बैंकहरुको तुलनामा पुँजी कम भएपनि यसको ग्रोथ भने निकै राम्रो रहेको छ ।
जसले गर्दा यसको इपीएसमा पनि वृद्धि देखिएको छ । २० अर्ब भन्दा धेरैको चुक्ता पुँजी रहेका बैंकहरुले प्रतिसेयर आम्दानी बढाउन धेरै कसरत गरेपनि तुलनात्मक रुपमा कम नै देखिएको छ ।तर, वैशाख मसान्तसम्मको खुद मुनाफा अनुसार कम पुँजी भएका बैंकहरुको प्रतिसेयर आम्दानी भने धेरै छ । १५ अर्ब भन्दा कम पुँजी भएका बैंकहरुको प्रतिसेयर आम्दानी धेरै छ । राष्ट्र बैंकको दबाबले मर्जर तथा एक्विजिसन प्रक्रियामा गएपछि वाणिज्य बैंकहरुको संख्या २८ बाट घटेर अहिले २१ मा झरेको छ ।
मर्जर प्रक्रियामा रहेका सनराइज र लक्ष्मी बैंकले एकीकृत कारोबार थालेपछि बैंकहरुको संख्या २० मा आउनेछ । प्रतिसेयर आम्दानी वार्षिकीकरण गरिएको छैन ।विगतमा हकप्रद र बोनस सेयरको साहरामा पुँजी बढाएका बैंकहरुको मर्जर तथा एक्विजिसनपछि पुँजीको आकार झनै ठूलो भएको छ । तर सोही अनुपातमा व्यवसाय विस्तार र नाफा बढाउन नसक्दा यिनीहरुको प्रतिसेयर आम्दानी घट्दो छ ।
घट्दो प्रतिसेयर आम्दानीको असर लगानीकर्ताले पाउने लाभांशमा पनि पर्न थालेको छ । रिपोर्ट अनुसार सबैभन्दा कम प्रतिसेयर आम्दानी कृषि विकास बैंकको देखिएको छ । यसको इपीएस जम्मा ६ रुपैयाँ ४७ पैसा रहेको छ । यसको नाफा पनि सबै भन्दा कम छ । कुमारी, कृषि र प्रभु बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ भन्दा कम छ ।











