फोनेपे र नमस्तेपेबीच क्यु–आर भुक्तानी सम्बन्धि सम्झौता

काठमाडौं । नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपे र नेपालको पहिलो सरकारी स्वामित्वको डिजिटल पेमेन्ट वालेट ‘नमस्तेपे’बीच फोनपे क्यु–आर भुक्तानी नेटवर्कमा आबद्ध हुन सम्झौता हस्ताक्षर भएको छ । उक्त सम्झौतामा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटा र नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले हस्ताक्षर गरेका हुन् ।
सो सम्झौतासँगै सबै नमस्तेपे प्रयोगकर्ताहरूले नेपालभरका १२ लाख भन्दा बढी फोनपे मर्चेन्टहरूमा फोनपे नेटवर्क मार्फत छिटो, सुरक्षित र सजिलो रूपमा क्यु–आर भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।
सम्झौता हस्ताक्षरपछि कार्यक्रममा बोल्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले भने, ‘फोनपेको नेटवर्कमा नमस्तेपेलाई आधिकारिक रूपमा स्वागत गर्न पाउँदा हामी खुसी छौँ । अब नमस्तेपे प्रयोगकर्ताहरूले फोनपे क्यु–आर मार्फत पनि भुक्तानी गर्न सक्छन् । हामी विश्वस्त छौं कि नमस्तेपेसँगको सहकार्यले डिजिटल भुक्तानीलाई नेपालमा प्रवर्द्धन गर्न थप मद्दत गर्नेछ ।’
प्रयोगकर्ताहरूलाई व्यापक र सुविधाजनक डिजिटल भुक्तानी अनुभव प्रदान गर्ने कम्पनीको भिजनमा सो साझेदारी महत्वपूर्ण रहेको छ । नमस्तेपेसँगको साझेदारीले ग्राहकहरूलाई अझै बढी भुक्तानी विकल्पहरू मिलेको छ भने हाम्रो समावेशी वित्तीय इकोसिस्टममा थप बढावा पुगेको छ ।
त्यसैगरी सम्झौतामा खुसी व्यक्त गर्दै नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले भने, ‘फोनपे नेटवर्कलाई हाम्रो भुक्तानी प्रणालीमा समेटी हाम्रा प्रयोगकर्ताहरूलाई १२ लाख भन्दा बढी मर्चेन्टहरूमा भुक्तानी गर्ने सेवा दिन पाउँदा हामी निकै उत्साहित छौं । हामी हाम्रा ग्राहकहरूलाई विभिन्न सुविधाहरु प्रदान गर्दै डिजिटल अनुभव सरल बनाउन सँधै प्रयासरत छौँ । यो सहकार्यले हाम्रा मूल्यवान ग्राहकहरूलाई निर्बाध, सुरक्षित र सुविधाजनक कारोबार र सरल भुक्तानी अनुभव सुनिश्चित गर्दछ ।’













