बैंक तथा वित्तीय संस्थाहरूको आरओए र आरओइको अवस्था कस्तो छ ?

१८ असार २०८०, सोमबार १७:१६

काठमाडौं ।  बैंक तथा वित्तीय संस्थाहरूको बैंकिङ उद्योगको सम्पत्ति प्रतिफल (आरओए) र इक्विटीमा प्रतिफल (आरओई) दुवैमा सामान्य वृद्धि भएको छ। आरओए १.१७ प्रतिशतबाट बढेर १.२४ प्रतिशत र आरओई अघिल्लो वर्षको १२.६६ प्रतिशतबाट बढेर १३.५१ प्रतिशत पुगेको हो।

वाणिज्य बैंकहरूको ब्याज आम्दानीमा भएको वृद्धिले मुख्यतः वाणिज्य बैंकहरूको आरओए र आरओई बढेको हो। त्यसैगरी, विकास बैंकहरूको आरओए र आरओईमा सामान्य वृद्धि भएको छ।तर, वित्त कम्पनीको हकमा खुद नाफा घटेको कारण आरओए र आरओई क्रमशः १.५८ प्रतिशत र १२.२७ प्रतिशतबाट घटेर १.१० प्रतिशत र ९.३३ प्रतिशतमा झरेको हो।

ब्याज आम्दानीको तुलनामा फाइनान्स कम्पनीहरूको ब्याज खर्चमा उल्लेख्य वृद्धि भएको कारणले गर्दा फाइनान्स कम्पनीहरूको प्रतिफल घटेको मान्न सकिन्छ।ब्याज आम्दानीको प्रमुख अंश ऋण र अग्रिम ब्याज थियो। ब्याज आम्दानीले बैंक तथा वित्तीय संस्थाको कूल आम्दानीको ८७.४८ प्रतिशत योगदान गरेको छ।

कसरी छुट्याउने  आगामी दिनमा बृद्धिहुने बैंक ?

बैंकका बित्तीय बिवरणमा उल्लेख हुने सूचक ‘आरओई’को माध्यमबाट बैंकले भविष्यमा गर्न सक्ने बृद्धिको आंकलन गर्न सकिन्छ । सामान्यतः नेपाली लगानीकर्ताले प्रतिसेयर आम्दानी (इपिएस) र मूल्य आम्दानी (पिइ रेसियो) जस्ता सुचकलाई आधार बनाई लगानी गरेको पाइन्छ । यी महत्वपूर्ण अनुपात हुन्, तर यीनका सिमितता छ । यो सिमितता धेरैहदसम्म ‘आरओई’ले ब्यापक बनाउन सक्छ ।

के हो आरओई ?

कम्पनीको नाफाको मुल्याङ्कन गर्ने सबैभन्दा महत्वपूर्ण सूचक हो आरओई । यसले सेयरधनीहरुको कुल सम्पत्तिको तुलनामा कम्पनीको नाफा उजागर गर्छ ।
कम्पनीको कुल नाफालाई चुक्ता पूँजी र जगेडा कोषको योगले भाग गर्दा यो सूचक आउँछ । यस सूचकले कम्पनीको पूँजी र जगेडा कोषलाई लगानी गरी नाफा निकाल्न सक्ने क्षमताको उद्घाटन गर्छ ।

नेपाली बैंकहरुले हाल पूँजी तिब्र गतिमा बढाइरहेको अवस्थामा र कतिपय बैंकले एफपिओ जारी गरिसकेको र गर्ने प्रकृयामा रहेको परिस्थितमा आरओइले बैंकहरुले बढाएको पूँजी र जगेडा कोषलाई नाफामा बदल्न सक्ने क्षमता देखाउँछ । यो जति धेरै भयो उति राम्रो मानिन्छ । आरओइ बढि भएको कम्पनीले आन्तरिक नगद प्रवाह बढि गर्न सक्छ । साथै, भविष्यमा आरओइ कम भएका कम्पनीको तुलनामा थप ब्यवसाय बिस्तारको लागि बोनस र हकप्रद सेयरको माध्यमबाट थप पूँजी बढाउने सम्भावना पनि हुन्छ ।

भविष्यको कुरा कसैलाई पनि थाहा हुँदैन । भविष्यमा हुने बैंकको बृद्धि देशको समग्र आर्थिक बृद्धि, राजनैतिक अवस्था र बैंकको भविष्यको ब्यवस्थापनले पनि असर गर्छ । तर, भूत र बर्तमानको मुल्याङ्कनबाट पनि भविष्यको आंकलन गर्न सकिन्छ । निरन्तर रुपमा आरओई बढाउँदै लगेको र बैंकिङ क्षेत्रको औसत आरओइ भन्दा माथि आफ्नो आरओइ राख्न सफल भएको बैंकले अन्य कुरा यथावत रहेमा भविष्यमा पनि आफ्नो पूँजीलाइ धेरै नाफामा बदल्न सक्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*