डिजिटल वित्तीय सेवा बैंकिङ्ग प्रणालीको अभिन्न अङ्ग होः गभर्नर अधिकारी

२१ असार २०८०, बिहीबार १३:४५

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल वित्तीय सेवा वित्तीय प्रणालीको अभिन्न अङ्ग रहेको धारण राखेका छन् ।
साउँथ एसीयन रिजनल फाइनान्सीयल इन्क्लुजनको २०८० असार २० गते आयोजित साउँथ एसीया लिडर्स राउण्डटेबल विषयक भर्चुअल बैठकलाई सम्बोधन गर्दै सर्फीका उपाध्यक्षसमेत रहेका गभर्नर अधिकारीले यस्तो धारणा राखेका हुन् ।

उनले भने “डिजिटल वित्तीय सेवा हाम्रो बैंकिङ प्रणालीको अभिन्न अङ्ग हो । कोभिड जस्ता सङ्कट र अनिश्चितताको समयमा यसले व्यावसायिक निरन्तरतामा टेवा पुयाउँछ ।“ बैठकमा उनले दक्षिण एसियाली मुलुकहरूबीचको अन्तरदेशीय भुक्तानी प्रणालीलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । साथै, दक्षिण एसिया क्षेत्रमा वित्तीय साक्षरता र समावेशीकरणलाई प्रवर्द्धन गर्न सबैले ऐक्यबद्धता जनाउनुपर्ने धारणा उनले राखे ।

सो अवसरमा गभर्नर अधिकारीले नेपालमा डिजिटल भुक्तानीको नीतिगत तथा प्राविधिक पूर्वाधार विकास, अन्तरदेशीय भुक्तानी संयन्त्र, वित्तीय ग्राहक संरक्षण, लघुवित्त सेवाको २०८० असार २० गते प्रवर्द्धनलगायतका क्षेत्रमा भएका प्रगतिबारे चर्चा गरे ।

बैठकमा गभर्नर अधिकारीले नेपालको कुल जनसंख्याको दुई तिहाइ हिस्सामा मोबाइल बैंकिङको पहुँच पुगेको उल्लेख गर्दै पछिल्लो समयमा क्यूआर कोड, डिजिटल वालेट जस्ता माध्यमबाट हुने भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको जानकारी दिए ।

बैठकमा बङ्गलादेश बैंकका डेपुटी गभर्नर नुरुन नाहर, सेन्ट्रल बैंक अफ श्रीलङ्काका डेपुटी गभर्नर टीएमजेवाईपी फर्नान्डो, माइक्रो क्रेडिट रेगुलेटरी अथोरिटी अफ बङ्गलादेशका कार्यकारी उपाध्यक्ष मोहम्मद फासिउल्लाह र सार्क मुलुकका केन्द्रीय बैंकका अन्य पदाधिकारीको सहभागिता थियो । माल्दीभ्स मनिटरी अथोरिटीका गभर्नर अली हसिमले उक्त बैठकको अध्यक्षता गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*