लक्ष्मी बैंकसँगको मर्जर प्रभावित पार्दै सनराईज बैंकका अध्यक्ष दुगड, राष्ट्र बैंकले सोध्यो स्पष्टीकरण

काठमाडौं । राजनीतिक पहुँच र अन्य प्रभावमार्फत सनराईज बैंकका अध्यक्ष मोतिलाल दुगडले लक्ष्मी बैंकसँगको मर्जर प्रभावित बनाउने प्रयास गरेका छन् । एमभी दुगड गु्रपका अध्यक्ष समेत रहेका दुगडका कारण लक्ष्मी बैंक र सनराईज बैंकको मर्जर प्रक्रियामा ढिलाई भइरहेको छ । गत मंगलबार राष्ट्र बैंकमा पेश गरिएको अन्तिम स्वीकृतिको फाइल दुगडकै कारण उतै अड्किएको छ ।
लक्ष्मी बैंकसँग मर्जरको अन्तिम तयारीमा रहेको मध्ये सनराईज बैंकका अध्यक्ष छन् मोतिलाल दुगड । उनै दुगडले मर्जर प्रक्रियालाई प्रभावित बनाउने गरी अनेकन् तिकडमहरु जारी राखेपछि नियामक निकाय केन्द्रीय बैंकले अध्यक्ष दुगडलाई स्पष्टीकरण सोधेको छ । सो को जवाफ दुगडले दिएका छैनन् ।
बैंकले छिट्टै मर्जरको स्वीकृति पाउनुपर्नेमा दुगड दिनहुँ जसो केन्द्रीय बैंकमा पुगेर आफै अध्यक्ष हुनुपर्ने भन्दै अडान लिइरहेको बुझिएको छ । गभर्नरलाई विभिन्न शक्तिकेन्द्र र काठमाडौंस्थित भारतीय दुताबासबाट समेत टेलिफोन गर्न लगाएर प्रभावित पार्ने काम दुगडबाट भइरहेको बुझिएको छ ।
दुगडकै कारण असारभित्रै हुने भनिएको सनराईज लक्ष्मी बैंकको मर्जर प्रक्रिया भाँडिने जोखिम बढेको चर्चा दुवै बैंकभित्र चल्न थालेको छ ।











