बजारमा कर्जाको माग निकै कम छ, ब्याजदरलाई सिमामा राख्न कठिन: गर्भनर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटका लक्ष्यहरु पूरा गर्ने गरी मौद्रिक नीति आउने बताएका छन् । आगामी साता मौद्रिक नीति ल्याउने जानकारी उनले दिए ।
आज प्रतिनिधि सभा, अर्थ समितिको बैठकमा बोल्दै उनले अघिल्लो आर्थिक वर्षमा निक्षेप राम्रो भए पनि कर्जा विस्तार कम भएको बताए ।
उनले बजारमा शिथिलता रहेकाले त्यसको असर बैंकको रिकोभरीमा परेको बताएका हुन् ।अहिले गत वर्षको तुलनामा बाह्य क्षेत्र सहज भएको गभर्नरले बताए । बजारमा कर्जाको माग निकै कम रहेको उनको भनाइ छ ।
गत वर्ष २७ खर्बको स्थायी तरलता सुविधा (एसएलएफ) प्रवाह गरेको उनले जानकारी दिए । बैंकिङ सिस्टममा बढी भएको ६० अर्ब रुपैयाँ रिभर्स रिपोमार्फत खिचिएको उनले बताए । जसको कारण ब्याजदर सिमामा राख्न कठिन हुने उनले बताए । अघिल्लो वर्षको तुलनामा गत वर्ष ब्याजदर बढी भए पनि चालू आवको अन्तिममा ब्याजदर घटदै गएको उनले बताए ।
उनले कर्जाको मागमा कमी हुनुको प्रमुख कारण बजारमा समग्र मागको कमी भएको बताए । बैकिङ क्षेत्रमा असारमा तरलता राम्रो बढेको भन्दै उनले सिआरआर बाहेक नै करिब ८८ अर्ब तरलता प्रणालीमा रहेको बताए ।
भुक्तानी सन्तुलन र विदेशी विनिमय गत वर्ष भएको घाटा पूर्ति गरी सहज अवस्थामा आएको उनले बताए । वित्तीय क्षेत्र रिकभरीमा केही समस्या रहेको उनले बताए । बजारमा शिथिलता रहेको र यसको प्रभाव रिकभरीमा परेको उनले बताए।
बैकिङ क्षेत्र बलियो हुनुपर्छ र मौद्रिक नीति त्यसमा केन्द्रित रहने उनको भनाइ छ ।











