ठूला घरानालाई सस्तोमा ऋण दिन राष्ट्र बैंकले लगायो प्रतिबन्ध, बेस रेटभन्दा सस्तोमा ऋण दिन नपाइने

१२ श्रावण २०८०, शुक्रबार १६:५१

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले आफूखुशी ठुला व्यापारिक घरानाहरुलाई सस्तोमा ऋण दिने व्यवस्था नीतिगत रुपमा समाधान गरेको छ । ठूलो मात्रामा ऋण डिल गरेर सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्ने चलन नेपाली बैंकहरुमा गोप्य रुपमा हुँदै आएको थियो ।
नेपाल राष्ट्र बैंकले आज जारी एकीकृत निर्देशिका बमोजिम अब बैंकहरुले पछिल्लो तीन महिनामा आधारित बेस रेट भन्दा सस्तोमा ऋण दिन पाइने छैन ।

कुनै पनि कर्जा पछिल्लो तीन महिनाको औसत आधारदर भन्दा कम ब्याजदरमा प्रवाह गर्न नपाइने व्यवस्था एकीकृत निर्देशिका मार्फत ल्याएको छ । यस व्यवस्थाले ठूला व्यापारिक घरानाले सस्तो दरमा लिएको ऋण समेत अब बेस रेटमा पुर्याउनुपर्ने भएको छ ।

राष्ट्र बैंकले सरकारी अनुदान तथा अन्य सहायता अन्तर्गत निम्न बर्गीय जनतालाई दिने ऋणमा भने बेस रेटभन्दा तल झरेर ऋण प्रवाह गर्न पाइने व्यवस्था छ ।एकीकृत निर्देशिकामा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहले आफनो कार्यक्रम अन्तर्गतको वा कुनै दातृ निकायबाट प्राप्त सहुलीयत दरको सहायता एवं अनुदान रकमलाई बैंक तथा वित्तिय संस्थामार्फत तोकिएको क्षेत्र एवं वर्गमा ऋण परिचालन हुने गरी संचालन गरेको कार्यक्रम अन्तर्गको कर्जा औषत आधारदर भन्दा कम ब्याजदरमा प्रवाह गर्न यस व्यवस्थाले नरोक्ने जनाएको छ।

यस व्यवस्था अनुसार बैंकहरुबाट ठूलो मात्रामा सेटिङ सस्तो ब्याजदरमा ऋण दिने प्रक्रियालाई अन्त्य गरेको छ । बैंकका सिईओहरुले तलबिजीमा विभिन्न नाममा सस्तो ब्याजदरमा ऋण प्रवाह गर्ने गरेका थिए । त्यसैगरी, बैंकका अध्यक्ष र सञ्चालकहरुले समेत अन्य बैंकका अध्यक्ष र सञ्चालकहरुसँग साटफेर गरेर सस्तो ब्याजदरमा ऋण दिएर जनताको निक्षेप दुरुपयोग रोकिने भएको छ ।

केन्द्रीय बैंकले बैंकहरुमा भइरहेको यस प्रकारको सेटिङ र फ्रडलाई रोक्न सुटुक्क नीगित रुपमा नयाँ व्यवस्था गरेको विश्वास गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*